शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

Image

२१ पुस, दाङ । दाङको तुलसीपुर क्षेत्रमा केही दिनदेखि फेरि कोरोना संक्रमित बढेका छन्। पछिल्ला तीन दिनमा २५ संक्रमित फेला परेका हुन्।

मेट्रो अस्पतालमा मंगलबार आरटी एन्टीजेन्ट बिधिबाट परीक्षण गर्दा तुलसीपुर उपमहानगर ८ को आश्वारा माबिका थप ११ जनामा संक्रमण पुष्टि भएको छ। सोमबार यस विद्यालयका विद्यार्थी र शिक्षक गरी ८ जनामा संक्रमण देखिएको थियो। मंगलबार १०६ जनामा एन्टिजेन्ट परीक्षण गरिएकोमा ११ जनामा संक्रमण देखिएको हो।

तुलसीपुर उपमहानगरका स्वास्थ्य शाखाका फोकल पर्सन विमल केसीले मंगलबार थप चार शिक्षक र ६ विद्यार्थी तथा एक व्यापारीमा कोरोना संक्रमण देखिएको बताए। शिक्षक र बिद्यार्थीमा संक्रमण पुष्टि भएपछि एक हप्ताको लागि अश्वारा माविको पठनपाठन बन्द गरिएको छ।

संक्रमित हुनेमा तुलसीपुर ६ का २ जना, वडा नम्बर ८ का ४ जना, वडा नम्बर ५ का २ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ७ का १ जना छन्। संक्रमितहरू सबैमा समान्य लक्षण देखिएको छ। २५ जनामा कोरोना देखिए पनि २ जनालाई मात्रै अस्पताल लगिएको छ।