धनगढी । सुदूरपश्चिम प्रदेश सभाले चार बर्षको अवधीमा ५६ वटा विधेयक पारित गरेको छ । प्रदेश सभा स्थापना भएको चार वर्षको अवधिमा प्रदेश सभाबाट ५६ विधेयक पारित भएका हुन् । सरकारले संसदमा दर्ता गरेका ६० मध्ये ५६ वटा विधेयक पारित भएर प्रमाणीकरण भएका छन् ।
चार वटा विधेयक संसदमा विचाराधीन अवस्थामा छन् । प्रदेश सभा गठन भएको पाँचौँ वर्ष प्रवेशको अवसरमा बुधबार धनगढीमा गरिएको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सभामुख अर्जुनबहादुर थापाले प्रदेश संसदको चार वर्षको अवधीमा दुई सय ३० वटा बैठक बसेका जानकारी दिए । संसदीय समितिका बैठकहरु पनि नियमित रुपमा भइरहेका उनले बताए ।
कार्य व्यवस्था परामर्श समितिका बैठक ९१ पटक, विधायन तथा प्रदेश मामिला समितिका बैठक ९० पटक, सार्वजनिक लेखा समितिका एक सय दुई पटक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको एक सय ३६ र सामाजिक विकास समितिको एक सय १८ पटक बैठक बसेको सभामुख थापाले जानकारी दिए । संसदले जनतासँग प्रत्यक्ष सरोकारका कानुन बनाएको उनले दावी गरे ।
सरकारलाई आवश्यक सुझाब, निर्देशन दिने काम पनि सरकारले गरेको उनले बताए । संसदका विषयगत समितिले विपद्पीडितलाई राहत दिन, विपद्को क्षति न्यूनिकरणको व्यवस्था गर्न, प्रदेश गौरवका आयोजना समयमै सम्पन्न गर्न सरकारलाई दिएको उनले बताए । माघ ७ गतेबाट प्रदेशसभा स्थापनाको चार बर्ष पूरा भएर पाँचौ वर्ष सुरु हुन लागेको हो ।















