काठमाडौं । सत्तारुढ गठबन्धनले गठबन्धन दलमा आवद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन बैठकले गठबन्धनमा आवद्ध दलबीच मात्र चुनावी तालमेल गर्ने निर्णय गरेको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार बैठकले केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने, स्थानीय तहको निर्वाचनमा गठबन्धन सम्बद्ध दलहरूले गठबन्धनमा मात्र चुनावी तालमेल गर्ने निष्कर्ष निकालेको हो ।
संयन्त्रमार्फत आएको रिपोर्टका आधारमा उम्मेदवार छनौट गर्ने कांग्रेस नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
त्यसैगरि सत्तारुढ दलहरूले स्थानीय तह निर्वाचनमा महानगरपालिकाको तालमेलसम्बन्धी निर्णय केन्द्रबाटै गर्ने सहमति गरेका छन् । आज बालुवाटारमा बसेको गठबन्धनमा सहभागी दलको बैठकले महानगरको हकमा केन्द्रबाटै टुंग्याउने निर्णय गरिएको हो ।
महानगरबाहेक उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको हकमा भने तालमेल गर्ने अधिकार सम्बन्धित तहलाई नै दिइएको छ । चुनावी तालमेलसम्बन्धी निर्णय गर्न संयन्त्र बनाउने निर्णय पनि गठबन्धन नेताहरूले गरेका छन् ।
स्थानीय तह निर्वाचनमा एकताबद्ध भएर जाने सहमति समेत भएको बैठकमा सहभागि नेकपा एसका नेता झलनाथ खनालले जानकारी दिए । संयन्त्र बनाउने विषयमा अर्को बैठकमा छलफल हुने उनको भनाइ छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, झलनाथ खनाल, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, अशोक राई, पूर्णबहादुर खड्का, गगन थापा, दुर्गा पौडेल, राजेन्द्र श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।














