बैतडी ।
बैतडीका शिक्षक धनबहादुर बिष्ट मृत्यु प्रकरणमा सत्यतथ्य छानबीनका लागि संघर्ष समिति गठन गरिएको छ । पाटनमा पीडित परिवार, शिक्षक, विद्यार्थी लगायतको आज बसेको भेलाले लिला बिष्टको संयोजकत्वमा ४१ सदस्यीय संघर्ष समिति गठन गरेको हो । सो समितिको सहसंयोजकमा सिलंगा माविका प्रधानाध्यापक लक्ष्मण बोहरा सहसंयोजक रहेका छन् ।
यस्तै शिक्षक बिष्ट मृत्यु प्रकरणमा सत्यतथ्य छानबीनका लागि शान्तिपूर्ण धर्ना दिने कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको छ । पाटन नगरक्षेत्र भित्रका विद्यालय भोलि(बुधबार) पनि बन्द रहने निर्णय गरिएको छ । यस्तै पाटन नगरपालिकामा ज्ञापन पत्र बुझाएर तालाबन्दी गर्ने र भोलिदेखि अर्को निर्णय नभए सम्मका लागि यातायात बन्द गर्ने संघर्ष समितिले जनाएको छ ।
यस्तै घटनाको विरोधमा पाटन नगरपालिका क्षेत्र भित्रका सबै बजार बन्द गर्ने निर्णय समेत भएको संघर्ष समिति सहसंयोजक लक्ष्मण बोहराले बताए ।
सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर गएको शनिबार मृत अवस्थामा फेला परेका थिए । कृष्ण माविको छात्रवास भवन पछाडि उनी मृत अवस्थामा फेला परेका हुन् । एक दिन अगाडि एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका बिष्ट भोलिपल्ट मृत अवस्थामा फेला परेपछि परिवारजनले हत्या भएको आशंका गरेका छन् ।
यो घटनामा सीआइबीको टोली र प्रहरीको टोलीले संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ । आज मात्रै पाटन पुगेको सीआइबीको टोलीले अनुसन्धान शुरु गरिसकेको छ । घटनाको बिषयमा सोधपुछका लागि ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।