कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ३ दिनमा ६० जना कोरोना संक्रमित भर्ना भएका छन् । नाकामा संक्रमित देखिएका सबैलाई प्रादेशिक अस्पतालकै आइसोलेसनमा राख्ने गरिएको छ ।
सोमबार ४ जना संक्रमित थिए भने मंगलबार ७ जना थपिए । बुधबार आइसोलेसनमा भर्ना हुनेको संख्या ६० पुगेको अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले बताए ।
उनका अनुसार अस्पतालको आइसोलेसनमा ५० बेडमात्रै छन् । केही बेड थपेर ६० जनासम्म राखिएको छ । थप संक्रमित आए राख्ने अवस्था छैन ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बिहीबार ३९ जनामा संक्रमण पुष्टि भएको छ । भारतबाट घर फर्किनेहरूको गड्डाचौकी नाकामा एन्टिजेन परीक्षण गर्दा २९ र महाकाली अस्पतालमा पीसीआर परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । बुधबार ५२ जना संक्रमित भेटिएका थिए । कैलालीको गौरीफन्टा नाकामा पनि बुधबार ४१ जनामा संक्रमण पुष्टि भएको थियो ।
गड्डाचौकी नाका भएर चल्ने नेपाल–भारत मैत्रीबसमा संक्रमितको संख्या बढी देखिएको छ । बुधबार दिल्लीबाट आएको एउटै बसका १० जनामा संक्रमण देखिएको छ । महाकाली प्रादेशिक अस्पतालमा बुधबार भर्ना भएका ३५ जना हरिद्वार तीर्थयात्राबाट फर्केका वृद्धवृद्धा छन् । मंगलबार पनि गड्डाचौकी नाकाबाट फर्किने ८ जनामा संक्रमण पुष्टि भएको थियो । नाकामा एकै दिन ठूलो संख्यामा संक्रमण देखिएपछि सीमावर्ती क्षेत्रमा त्रास पैदा भएको छ ।
यसैबीच, कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको परीक्षण महाकाली प्रादेशिक अस्पतालमै गर्ने तयारी थालिएको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. रोकायाका अनुसार शुक्रबारदेखि ओमिक्रोन परीक्षण सुरु गरिनेछ । कान्तिपुरबाट












