वासिङटन । विश्वका सर्वाधिक धनी व्यक्ति, टेस्लाका संस्थापक एलन मस्कले आफ्नो सम्पतिमा ३२.६ अर्ब डलर थप्दै नयाँ वर्षमा अझ धनी भएका छन् । यसरी उनको कूल सम्पति अहिले ३०४.२ अर्ब डलर पुगेको छ । ३०० अर्ब डलरको सम्पति कमाउने उनी पृथ्वीका पहिलो व्यक्ति हुन् ।
फोब्र्सका अनुसार यो नयाँ वर्षमा मस्क सबैलाई पछि पार्दै नम्बर १ धनी व्यक्तिका रुपमा प्रवेश गरेका छन् । उनीपछि दोस्रो स्थानमा फ्रेन्च फ्याशन कम्पनीका मालिक बर्नाड आर्नल्ट रहेका छन् । अमेजोनका जेफ बेजोस भने तेस्रो स्थानमा रहेको फोब्र्सले बताएको छ । टेस्लाको बढ्दो बजार भाउले नै मस्कको सम्पतिमा पनि लगातार वृद्धि ल्याइरहेको छ ।
आइतबार मात्र कम्पनीले २०२१ मा ९ लाख ३६ हजार भन्दा बढी विद्युतीय कार डेलिभर गरेको घोषणा गरेपछि कम्पनीको शेयर फेरि बढेको हो । हाल टेस्लाले १ ट्रिलियन डलर को मार्क पार गरिसकेको छ ।
उनीसँग टेस्लाको १५.६ प्रतिशत शेयर रहेको छ । साथै २०२१ मा उनले ३० लाख शेयर कर तिर्नलाई भनेर बेचेका पनि थिए । साथै आफूले अमेरिकी इतिहासकै सबैभन्दा बढी कर तिर्न लागेको घोषणा समेत गरेका हुन् ।
तर ११ अर्ब डलर कर तिर्दा पनि सो रकम उनको सम्पतिको ०.००३६ प्रतिशत हिस्सा मात्र हुन्छ । मस्कको सम्पति गत साल एकै वर्षमा ११६ अर्ब डलरले बढेको हो । यसअघि मस्क टाइम म्यागजिनका पर्सन अफ द इयर पनि भएका थिए । डेलीमेल