नेपाल टेलिकमको इन्टरनेट ‘स्लो’ भएको छ ? यस्तो रहेछ कारण

Image

काठमाडौं । उपत्यकाबाट सुरु गरिएको एफटीटीएच सेवा हाल सुदूरपश्चिमका विभिन्न जिल्लामा पनि विस्तार भएको छ। कैलालीका दर्जन बढी सहरी क्षेत्रसहित ७ जिल्लाका मुख्यमुख्य बजारमा टेलिकमले सेवा विस्तार गरेको हो। ‘एनटी फाइबर’को नाममा आगामी दिनमा यो सेवा बझाङ र बाजुरासँगै अन्य जिल्लाका जनघनत्व बढी रहेका ग्रामीण क्षेत्रमा पनि पुगाउने लक्ष्य राखिएको नेपाल टेलिकमका प्रादेशिक प्रमुख नामाकर न्यौपानले बताए। ‘नेपाल टेलिकमले परम्परागत तामाको तारको सट्टा घरसम्म अप्टिकल फाइबर पुर्‍याएर ट्रिपल प्ले अर्थात उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न थालेको छ’ उनले भने, ‘यो वर्षभित्र प्रदेशका सबै जिल्लामा एनटी फाइबर सेवा विस्तार गर्ने योजना छ।’

तर सर्वसाधारणले भने एनटी फाइबर सेवा विस्तार भए पनि सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रदान गर्ने इन्टरनेट सेवा केही समयदेखि कमजोर भएको गुनासो गरेका छन्। एनटी फाइबर नेट जोडेको भएपनि सेवा गुणस्तरीय नभएको धनगढीका स्थानीय जानकी उप्रेतीको गुनासो छ। ‘घरमा २५ एमबिपिएसको नेट जोडेका छौँ तर सेवा प्रभावकारी छैन। बच्चाहरुको अनलाइन कक्षा चलेको छ तर नेट नचल्दा डेटा किन्नु परेको छ’ उनले भने।

माघ ३ गते दक्षिण प्रशान्त महासागरमा पानीभित्र भएको ज्वालामुखी बिस्फोटले गर्दा समुद्र मुनी बिछ्याइएको अप्टिकल फाइबर केबलमा क्षति पुगेपछि इन्टरनेटमा समस्या आएको नेपाल टेलिकम धनगढी कार्यालयका प्रमुख सुरजबहादुर मल्लले जनाए। ‘नेपाल टेलिकमको सेवा अन्यको भन्दा भरपर्दो र प्रभावकारी छ’ उनले भने, ‘प्रशान्त महासागरमा भएको ज्वालामुखी विस्फोटले गर्दा नेपालसहित दक्षिण एसियामा नै इन्टरनेट सेवामा समस्या आएको छ र हामी कहाँ पनि गुनासो आउने क्रम बढेको छ।’ नेपाल टेलिकमले केहीदिनमा अप्टिकल फाइबर केबलमा भएको क्षतिले उत्पन्न समस्या समाधान भएपछि डाउनलोड र अपलोड स्पिडमा देखिएको समस्या समधान हुने बताएको छ।

यसैगरी उपभोक्तालाई तिव्र गतिको इन्टरनेट सेवा प्रदान गर्न धनगढी उपमहानगरपालिकासहित कैलाली जिल्लामा एनटी फाइबर नेट विस्तारको योजना रहेको दाबी गरिएको छ। नेपाल टेलिकमले अन्य इन्टरनेट प्रदायक कम्पनीको सेवाभन्दा टेलिकमको सेवा बढी विश्वसनीय र गुणस्तरीय भएको दाबी गरेको छ। नेपाल टेलिकमले नर्मल प्याकेजमा २५, ४० र ८० एमबीपिएसको एनटी फाइबर नेट सेवा दिइरहेको जनाएको छ। यसैगरी प्रिमियम प्याकेजतर्फ ५०, ८० र १०० एमबीपिएसको इन्टरनेट सेवा प्रदान गरिरहेको जनाएको छ।