हेटौंडा हस्पिटलमा निःशुल्क स्वास्थ्य परिक्षण: फोनबाटै नाम दर्ता गर्नसक्ने

Image

हेटौंडा

हेटौंडा अस्पताल विभिन्न प्रकारका शारिरिक समस्या भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परिक्षण गरिने भएको छ ।

सुष्मा कोइराला मेमोरियल अस्पतालको आयोजना र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सहयोगमा फागुन २१ गते शनिवार निःशुल्क स्वास्थ्य परिक्षण शिविर हुने भएको हो ।

हेटौंडा अस्पताल व्यवस्थापन समितिले जानकारी दिएको छ । शिविरमा आगोले पोलेको तथा शरिरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने भएको, अंगभंग भएको, आगोले पोलेर कपाल गुमाएका विरामीहरु, जन्मजात हातगोडाको औँलाहरु टाँसिएको, बाङ्गिएको, हातगोडामा जन्मजात पाँचभन्दा बढी औँलाहरु टाँसिएको, जन्मजात ओठ तथा तालु फाटेको विरामीहरुको स्वास्थ्य अवस्था परिक्षण गरिने अस्पतालले जनाएको छ । त्यसैगरी मांसपेशी खुम्चिएर शरिरको कुनै भाग चलाउन नमिल्ने, विस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएको, हातगोडा काटिएको ठाउँमा पाकेर, नचल्लने भएको, कान तथा नाक चिरिएको विरामी, शरिरमा मुसा, कोठी, दाग तथा गाठाहरुको शल्यक्रिया गर्नुपर्ने तथा क्यान्सर सम्बन्धी विरामीहरु, हर्निया, हाइड्रोसिलका विरामी तथा मेरुदण्ड भाँचिएर प्यारालाइसिस भएका विरामीको परिक्षण गरिने जनाइएको छ ।

शिविरमा स्वास्थ्य परिक्षण पछि शल्यक्रिया गर्नुपर्ने अवस्था भएमा त्यस्ता विरामीहरुलाई उपचार अवधिभर खान र बस्नको निःशुल्क व्यवस्थापन मिलाइने साथै शल्यक्रिया पनि निःशुल्क हुने अस्पताल संचालक समितिका अध्यक्ष उत्सव चौँलागाईले बताए । शिविरको लागि सुष्मा कोइराला मेमोरियल अस्पतालबाट २ जना सर्जन लगायत केही डाक्टरहरु आउने उनले बताएका छन् ।