बैतडी
बैतडीको सुर्नया गाउँपालिका–४ मा न्यायिक शाखा प्रमुख रामबहादुर महरामाथि हातपात भएको छ। गतको शुक्रबार वडामा गरिएको तालाबन्दी खोलाउने विषयमा सोमबार छलफल गर्दा न्यायिक शाखा प्रमुख महरामाथि हातपात गरिएको गाउँपालिकाले जनाएको छ।
छलफल भइरहेका बेला तालाबन्दी गर्ने पक्षले महरामाथि हातपात गरेको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाकारी दिएको छ।साथै महरामाथि हातपात गर्ने दोषीलाई कारवाही गर्न माग गरिएको छ।
वडामा गरिएको तालाबन्दी खुलाउने बिषयमा छलफल गर्न गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टको नेतृत्वमा वडा नं ६ का वडा अध्यक्ष जयबहादुर कुँवर, वडा नं ४ का वडा अध्यक्ष दिनेशप्रसाद भट्ट, न्यायिक शाखा प्रमुख रामबहादुुर महरा लगायतको व्यक्तिहरु सहभागी भएका थिए। जनप्रतिनिधिहरुलाई समेत तालाबन्दी गर्ने पक्षले गालीगलौज गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि फारम भर्ने बेला वडा कार्यालयका कर्मचारीहरुले पूर्वाग्रहपूर्ण व्यवहार गरेको भन्दै स्थानीयहरुले १४ बुँदे मागसहित वडा कार्यालयमा तालाबन्दी गरेका थिए।