काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) का पूर्वकप्तान विराट कोहलीले सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् । उनले जारी सिजनको ७ म्याच खेल्दा १९.८३ को औसतमा १२३.९५ को स्ट्राइक रेटमा ११९ रन मात्र बनाउन सकेका छन् ।
विराटले सात म्याचमध्ये दुई खेलमा मात्र १५ भन्दा बढी रन बनाएका छन् । लगातार खराब प्रदर्शनका कारण केही क्रिकेट प्रशंसकले त उनलाई केही खेलका लागि विश्राम दिनुपर्ने पनि बताउन थालेका छन् । यसैबीच, भारतीय टिमका पूर्वप्रशिक्षक रवि शास्त्रीले विराटको खराब प्रदर्शनबारे प्रतिक्रिया दिएका छन् ।
उनले पनि अहिले कोहली मानसिक रूपमा थकित भएको र उनलाई विश्रामको आवश्यकता रहेको बताएका छन् । शास्त्रीले विराटलाई सल्लाह पनि दिएका छन् ।
‘जब म कोच थिएँ । र, बायो–बबल सुरु भयो । मैले पहिलो कुरा भनेको थिए कि तपाईंले खेलाडीहरूसँग सहानुभूति राख्नुपर्छ । जबरजस्ती गरेमा खेलाडीमा नराम्रो असर पर्छ । त्यो खेलाडीले आफ्नो गति गुमाउन सक्छ । त्यसैले खेलाडीको बारेमा धेरै होसियार हुनुपछ,’ शास्त्रीले स्टार स्पोर्ट्ससँगको कुराकानीमा भनेका छन्, ‘विराट कोहलीको कुरा गर्ने हो भने उनी निकै थकित छन् । यदि कसैलाई ब्रेक चाहिएको छ भने त्यो विराट कोहली हो । उनीहरूले दुई वा साढे दुई महिनाको ब्रेक पाउनुपर्छ । विराटलाई ब्रेक चाहिन्छ किनभने उनीसँग अझै ६/७ वर्ष क्रिकेट बाँकी छ । थकावटको कारणले तपाईंमा कुनै असर नहोस् भन्ने तपाईं चाहनुहुन्न । त्यसैले म उनलाई केही समय आराम गर्न सुझाव दिन्छु ।’