काठमाडौं।
साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलमा नेपालले भोलि माल्दिभ्सको सामना गर्दैछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्ने छन् । खेल नेपाली समयअनुसार अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । प्रतियोगिता अघिको प्रि- म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीले जित सहित सुरुआत गर्ने दाबी गरेका छन् ।
खेलअघि दुवै टोली राम्रो अवस्थामा छन् । उमेर समूहमा दक्षिण एसियाली क्षेत्रमा सबै टोलीको स्तर एउटै भएपनि बिगतमा निकालेको नतिजा अनुसार नेपाली टोलीलाई फाइनलको दाबेदार मानिएको छ । तर, पछिल्लो समय युवा टोलीमा गरेको लगानी र तयारी हेर्ने हो भने माल्दिभ्सको टोली नेपालविरूद्ध ३ अंक हासिल गर्न योग्य रहेको कुरा पत्रकार सम्मेलनमा उनीहरुले देखाएको आत्मविश्वासबाट झल्कन्छ ।
यता, नेपाली टोलीले बिगतमा बलिया टोलीको चुनौती पन्छाउँदै यस प्रतियोगिताको तत्कालीन संस्करण (साफ यु – १८) को उपाधि जितिसकेको छ । त्यसैले उद्घाटन खेल निकै महत्वपूर्ण रहेको छ ।
नेपाली टोलीका कप्तान आयुस घलानले अरु कुरामा भन्दा पनि अहिले माल्दिभ्सविरुद्ध ३ अंक कसरी लिने भन्नेमा नै आफ्नो टोली केन्द्रित रहेको बताए । नेपाली सिनियर टोलीका महत्वपूर्ण सदस्य घलानले ३ अंक हासिल गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । कप्तान आयुष घलानले यस प्रतियोगिताका लागि टोली तयार रहेको बताएका छन् । ‘प्रतियोगितका लागि हामी तयार छौं । हामी जितका लागि खेल्नेछौँ,’ घलानले भने ।
घलानले टिम राम्रो अवस्थामा रहेको र भुवनेश्वरमा बेला बेलामा पानी परेर टोलीलाई केही राहत मिलेको बताए । माल्दिभ्स पनि नेपालसँग सतर्क छ । उनीहरुलाई विश्वास छ पछिल्लो समय कुनै देशको युवा टोलीलाई एक अर्काको हैसियत मापन गर्ने अवसर मिलेको छैन ।
नेपालले पहिलो खेलमा २५ जुलाईमा माल्दिभ्सको सामना गर्नेछ । खेल कलिङा रंगशालामा गर्नेछ ।नेपालले श्रीलंकासँग जुलाई २७ मा, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोली : गोलरक्षक – ईश्वर गुरुङ, युनेश चौधरी र जियारथ शेख। डिफेन्डर – अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिषेक वाइबा । मिडफिल्डर – दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान । फरवार्ड – रोहित सुब्बा, निरञ्जन मल्ल र रोहन खड्गी ।
यो पनि : माल्दिभ्ससँग भिड्नुअघि यस्तो भन्छन् नेपालका प्रशिक्षक केसी