जाजरकोट । भुकम्प प्रभावित जाजरकोटका ५०० जना विद्यार्थीहरूलाई इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाज एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको छ ।
जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ६ मा रहेको सीता माध्यमिक विद्यालयमा अध्ययनरत ५०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको हो । विद्यालयको प्राङ्गणमा आज एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ।
उक्त कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, ओरेगन नेपाली समाज, अमेरिकाका अध्यक्ष नारायण गुरुङ, सीता माध्यमिक विद्यालयका प्राचार्य गोरख बहादुर सिंह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकेन्द्र नेपाली, विद्यार्थी परिषद्का सगरमाथा र जानकी प्रदेश संगठन सचिव तथा केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, विद्यार्थी परिषद्का सुदूरपश्चिम र कर्णाली प्रदेश संगठन सचिव तथा राष्ट्रिय जनजाति कार्य प्रमुख चन्द्रशेखर जोशी, बारेकोट ५ का वडाअध्यक्ष गोरख बहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शर्मा, विरिजित बोहरा, कर्णाली प्रदेश कार्य समिति सदस्य नवीन गिरी, बिष्णु कार्की, विद्यालयका शिक्षक, अभिभावक तथा जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
प्राचार्य गोरख बहादुर सिंहले विद्यार्थीहरूको शिक्षण सिकाई क्रियाकलापमा टेवा पुर्याउने कार्यक्रम भएको र जाजरकोट जिल्लाको एकदम विकट बारेकोट गाउँपालिका ६ नम्बर वडामा रहेको आफ्नो विद्यालय सीता माध्यमिक विद्यालयमा यस्तो कार्य गरेकोमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र ओरेगन नेपाली समाजलाई धन्यवाद एवम् आभार प्रकट गरेका छन्।
उक्त कार्यक्रममा ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष नारायण गुरुङले जाजरकोटमा भुकम्प जादा विदेशमा रहेका नेपालीहरूको मुटु कामिरहेको र भुकम्प प्रभावित विद्यार्थीहरूलाई सानो भएपनि सहयोग गर्न र प्रत्येक्षरूपमा भेट्न पाउदा आनन्द आएको बताए ।
परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले विद्यार्थीहरू राष्ट्रका वर्तमान र भविष्य भएकाले असल व्यक्ति निर्माणमा सबैले विशेष ध्यान दिनुपर्ने बताउदै विद्यार्थी परिषद्ले निरन्तर सेवा कार्य गरिरहेको बताए ।
उक्त कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल र ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष नारायण गुरुङलाई अभिनन्दन तथा सम्मान पत्र सहित विद्यालय परिवारले सम्मान गरेको केन्द्रिय सदस्य प्रदीप भट्टले जानकारी दिए ।