मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक प्रयोग गरेको आँप खुलेआम बिक्री : सरोकारवाला निकायको बेवास्ता

Image

हेटौंडा। हेटौंडा बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेको छ। मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप खुलेआम बिक्री वितरण भइरहेको हो।

सरोकारवाला निकायले बेवास्ता गर्दा जिल्लाको बसपार्क, हेटौंडा–१ को तरकारी बजार, खोपेगल्ली लगायत ठेलामा समयअगावै औषधि हालेर पकाइएको आँप व्यापारीहरूले महँगो मूल्यमा बिक्री गरिरहेका छन्।

विभिन्न विषादी प्रयोग गरेर पकाइएका आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकोले खरिद नगर्न तथा खानसमेत नहुने स्वास्थ्यकर्मीहरू बताउँछन्।

समय अगावै आँपमा विषादी हालेर पकाइने गरेकोले सावधानी अपनाउन पनि स्वास्थ्यकर्मीहरुको सुझाव रहेको छ। रसायन हालेर पकाएको आँप खाँदा मानिसलाई रिङ्गटा लाग्ने, वाकवाकी आउने, पेट पोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ । विभिन्न किसिमका विषादी प्रयोग गरी पकाएको आँपलगायत अन्य फलफूल सेवन गर्दा स्वास्थ्य बिग्रने भनेकोले हुदा यस्तो बिषादी प्रयोग गरेको फलफुल अनुगमनका लागि सम्वन्धित निकायको ध्यान पुर्याउनु जरुरि रहेको स्थानियहरु बताउदछन् ।