हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–१५ अन्तर्गत चित्रेपानी टोलमा खहरे नियन्त्रण तथा बस्ती संरक्षणको योजना औपचारिक रूपमा सुरु गरिएको छ।
स्थानीय विकासका लागि महत्वपूर्ण मानिएको यस परियोजनाको शिलान्यास हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले बाढी, भू–स्खलन र जमिन कटानबाट ग्रसित क्षेत्रको दीर्घकालीन सुरक्षालाई ध्यानमा राखी योजना सुरु गरिएको जानकारी दिनुभयो। “स्थानीयको सुरक्षासँगै वातावरणीय सन्तुलनलाई ध्यानमा राखेर यो कार्य अघि बढाइएको हो,” उहाँले भन्नुभयो।
योजना प्रारम्भ भएकोमा स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन्। उनीहरूले बस्तीको सुरक्षा र विकासमा आशा देखाएका छन्।
अध्यक्ष मुक्तानका सचिवालय मनोज परियारले योजना सफल बनाउन स्थानीयहरूसँग सहकार्यमा अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो। यस्तै अध्यक्ष मुक्तानले पनि वडा नं. १५ को दिगो विकासका लागि यस्ता योजनाहरूमा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो।















