हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। एमाले–कांग्रेस गठबन्धनको नेतृत्व गरिरहेका बानियाँले भदौ १८ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार सो मितिमा संसद बैठक आह्वान गर्न प्रदेशसभा सचिवालयलाई जानकारी गराएका हुन्।
साउन २० गते मुख्यमन्त्री बनेका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। उनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकारको नेतृत्व ग्रहण गरेका थिए।
सभामुख भुवनकुमार पाठकका अनुसार छलफलपछि मिति तोकिए पनि औपचारिक पत्र पठाउने प्रक्रिया भइरहेको छ, र सोहीअनुसार बैठकको समय निर्धारण गरिनेछ।

















