हेटौंडा/ बागमती प्रदेशमा विश्वासको मतको तयारी भइरहेकै बेला सत्तारुढ नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक असन्तुष्टिले सरकार संकटमा पर्न सक्ने संकेत दिएको छ। निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा नेतृत्वको समूहले नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई समर्थन नगर्ने चेतावनी दिएका छन्।
लामाले सभापति शेरबहादुर देउवासँग सल्लाह गरेर मात्र अन्तिम निर्णय गर्ने बताएका छन्। उनका अनुसार, साउन १४ मा आफैंले नियुक्त गरेका मन्त्री गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई पुनः जिम्मेवारी दिने पूर्वसहमति भएको थियो। तर, बानियाँले मन्त्रिपरिषदमा उनीहरूलाई स्थान नदिएपछि विवाद चर्किएको हो।
‘सहमति पालना नभए विश्वासको मत दिन सक्दैनौं,’ लामाले स्पष्ट पारे। उनले बानियाँलाई एक दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम दिएका छन्, अन्यथा सामूहिक राजीनामा दिनेसम्मको तयारी भएको उनले बताए।
यो परिस्थितिमा सत्ता साझेदार नेकपा एमालेले भने बानियाँलाई समर्थन जनाउँदै आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। मुख्यमन्त्री बानियाँले साउन २७ गते अपराह्न ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा विश्वासको मत लिनु पर्ने संवैधानिक बाध्यता छ।
राजनीतिक समीकरण मिलेन भने प्रदेश सरकार पुनः नेतृत्व संकटतर्फ धकेलिने सम्भावना बढेको छ।
















