हेटौंडा/ बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको राजनीतिक सहकार्य थप मजबुत बनेको छ। मंगलबार सम्पन्न प्रदेशसभा बैठकमा मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले ६३ सांसदको समर्थनसहित विश्वासको मत प्राप्त गर्दै आफ्नो सरकारलाई स्थायित्वको संकेत दिएका छन्।
संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (४) बमोजिम प्रस्तुत प्रस्तावमा नेपाली कांग्रेसका ३६ र नेकपा एमालेका २७ सांसदले समर्थन जनाएका हुन्। ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि आवश्यक ५६ भन्दा सात मत बढी पाउन सफल बानियाँको पक्षमा गठबन्धनको अडान स्पष्ट देखिएको छ।
यसैबीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा र हाम्रो नेपाली पार्टीका २२ सांसदले प्रस्तावको विपक्षमा मतदान गरे भने नेमकिपा तटस्थ बस्यो। बैठकमा जम्मा ९२ जना सांसदको उपस्थिति रहेको थियो।
प्रस्तावमाथि छलफलका क्रममा विभिन्न दलका नेताहरूले आ–आफ्ना धारणा राखेका थिए। विश्वासको मत पाएपछि सभामुख भुवनकुमार पाठकले प्रदेशसभा बैठक बुधबार विहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।
















