हेटाैँडा / नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले बिहीबार औपचारिक रूपमा शुभारम्भ गरेको महिला पत्रकार प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवर्द्धन कोषलाई स्थानीय तहदेखि विभिन्न संघसंस्थाले सहयोग घोषणा गरेपछि यसले नयाँ तरंग ल्याएको छ ।
पत्रकारहरूको पेशागत हकहितका गतिविधि बढी हुने क्रममै पहिलोपटक महिला पत्रकारहरूको प्रजनन स्वास्थ्यलाई केन्द्रमा राखेर कोष स्थापना हुनु ऐतिहासिक मानिएको छ । कोषको सुरुवाती रकमका लागि हेटाैँडा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ भने नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँ दुवैले व्यक्तिगत रूपमा पनि १०/१० हजार रुपैयाँ योगदान गर्ने घोषणा गरे ।
त्यसैगरी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, ब्रोडकास्टिङ एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईं लगायतले समेत आर्थिक सहयोग गरे भने कार्यसमितिबाट मात्रै ११ हजार रुपैयाँ संकलन गरिएको छ ।
महिला पत्रकारहरूको मातृत्व अधिकार र सुरक्षित सुत्केरीलाई पत्रकारितासँग जोडेर अघि बढाइएको यो पहलले सामाजिक क्षेत्रमै नयाँ दृष्टान्त स्थापित गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममै स्वास्थ्यकर्मी महासंघ मकवानपुरले स्यानीटरी प्याड र खाद्य सामग्री सहयोग गरेको थियो भने सहयाेगी मन नेपालले ब्लड प्रेस नाप्ने उपकरण र सुत्केरी पत्रकारलाई ५ लिटर तेल दिने घोषणा गरेको छ ।













