हेटौँडा / मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित फरेस्ट्री क्याम्पस नजिक दिनदहाडै धारिलो हतियार प्रहार र लुटपाटमा परेका एक युवक गम्भीर घाइते भएका छन्।
मकवानपुरगढी गाउँपालिका–५ घर भई हाल धादिङमा बसोबास गर्दै आएका ३६ वर्षीय प्रेमकुमार घिमिरेमाथि भदौ ३० गते साँझ ५:३० बजे योजनाबद्ध रूपमा आक्रमण भएको हो। बब्लु श्रेष्ठले “जरूरी काम छ” भन्दै बोलाएको ठाउँमा पुगेका घिमिरेमाथि मिथुन लामा, प्रिन्स तामाङ, रुपेश भ्लोनलगायत ६/७ जनाको समूहले खुकुरीलगायत धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको जाहेरीमा उल्लेख छ।
प्रहारबाट टाउको, अनुहार र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको घिमिरेलाई हेटौँडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर रिफर गरिएको छ। हाल उनको शरीरमा ६० टांका लगाइएको परिवारले जनाएको छ।
घटनाको क्रममा घिमिरेसँगै भएको आई फोन, दुई तोला सुन, रु. ४ लाख ५५ हजार नगद लुटिएको र उनको गाडीमा समेत क्षति पुर्याइएको परिवारको भनाइ छ। प्रत्यक्षदर्शीका अनुसार आक्रमणपछि समूह फरार भएको थियो।
पीडित पक्षले प्रत्यक्षदर्शी बयान, मेडिकल रिपोर्ट र CCTV फुटेजलाई प्रमाणका रूपमा संकलन गर्दै मुलुकी अपराध संहिता २०७४ को दफा १८३ अनुसार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न माग गरेका छन्। साथै, दफा १८६ अनुसार उपचार खर्च तथा क्षतिपूर्ति दिलाउन र योजनाकार बब्लु श्रेष्ठलगायत सबैलाई अनुसन्धानमा ल्याउन माग गरिएको छ।
तर, घटना भएको करिब १० दिन बितिसक्दा पनि नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जाहेरी दर्ता नगरेको आरोप परिवारले लगाएको छ। प्रहरी प्रशासनले विभिन्न बहानामा उजुरी दर्ता टारिरहेको र यसले अपराधी उम्किने सम्भावना बढाएको पीडित परिवारको चिन्ता छ।
पीडित परिवारका अनुसार, आक्रमणमा संलग्न दुई जना हेटौँडा–१२ बनस्पतिका रहेका छन्। CCTV फुटेजमा पनि आक्रमणकारीहरू भागिरहेको देखिन्छ। तर, प्रहरी प्रशासनले क्यामेरा नभएको भन्दै अनुसन्धानमा ढिलाइ गरिरहेको आरोप छ।
घिमिरे परिवारका अनुसार, उनले खुला रूपमा “जेन–जी आन्दोलन”लाई समर्थन गरेको कारणले पनि योजनाबद्ध रूपमा आक्रमण गरिएको हो।
यो घटनाले हेटौँडामा कानून–व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ। यसअघि पनि उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, वडाध्यक्ष सविन न्यौपाने, नविन सिग्देल लगायतमाथि आक्रमण भए पनि दोषी कारबाहीविहीन रहेका थिए।
स्थानीयवासीले भने, “जनप्रतिनिधि नै असुरक्षित हुने शहरमा सर्वसाधारणले कसरी सुरक्षाको अनुभूति गर्ने?”












