थाहा नगरपालिकामा प्रशासकीय नेतृत्व फेरबदल, पौडेल आए–प्रधानको बिदाइ

Image

हेटौंडा/ मकवानपुरको थाहा नगरपालिकामा प्रशासकीय नेतृत्व फेरबदल भएको छ। करिब ९ महिनासम्म नगर प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहेका सुरेन्द्र प्रधान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् भने उनको स्थानमा निरज पौडेल आएको हो।

१० असोजमा थाहामा प्रवेश गरेका पौडेलको स्वागत र प्रधानको बिदाइ विशेष कार्यक्रममार्फत गरिएको थियो। नगर प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख भरत गोपाली, वडा नम्बर २ का अध्यक्ष बम बहादुर सिन्तान, वडा नम्बर ५ का अध्यक्ष विष्णु बहादुर गुरुङ, वडा नम्बर ७ का अध्यक्ष शिवराज थिङसहित शाखा प्रमुखहरूको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै प्रधानले आफ्नो छोटो कार्यकालमा थाहालाई सकेसम्म सुधारात्मक बाटोतर्फ अघि बढाउने प्रयास गरेको बताए। उनले नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि र कर्मचारीहरूको सहकार्यले आफूलाई काम सहज भएको स्मरण गरे। “थाहामा सिकेका सकारात्मक अभ्यासलाई म अन्य कार्यालयमा पनि लागू गर्नेछु,” उनले बताए।

त्यसैगरी नयाँ प्रशासकीय अधिकृत पौडेलले थाहाको राम्रो पृष्ठभूमिबारे उल्लेख गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रतिबद्धता जनाए। “स्थानीय तहमै पुगेर नागरिकलाई छिटोछरितो सेवा दिनुपर्ने हो, यसका लागि म निरन्तर प्रयत्नशील रहनेछु,” उनले भने।

नगर प्रमुख विष्टले प्रशासकीय अधिकृतहरूको छोटो समयमा हुने सरुवाले पालिकामा दिगो कार्ययोजना अघि बढाउन अवरोध गर्ने धारणा राखे। उनले तीन वर्षभन्दा अलिक बढी समयको आफ्नो नेतृत्व अवधिमा मात्र थाहामा ६ जना प्रमुख प्रशासकीय अधिकृत बदलिनु “दुखद” भएको बताए। तथापि, उनले सरुवालाई नियमित प्रक्रिया मान्दै, सम्बन्ध र सहकार्यलाई निरन्तरता दिने आश्वासन दिए।

कार्यक्रममा सरुवा भएर जाने प्रधान र थाहामा नयाँ आएर जिम्मेवारी सम्हाल्ने पौडेल दुवैलाई कर्मचारी तथा जनप्रतिनिधिहरूले मायाँको चिनो प्रदान गरेका थिए।