हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरमा यतिबेला गम्भीर आन्तरिक विवाद देखिएको छ। प्रतिनिधिसभाका दुवै क्षेत्र जितेर उत्साहित बनेको जिल्ला संगठन अहिले नेताहरूबीचको शक्ति संघर्ष र व्यक्तिगत मतभेदका कारण संकटतर्फ उन्मुख देखिएको हो।
जिल्ला सभापति तथा सांसद प्रकाश गौतम ले विवादबारे एकतर्फी निष्कर्षमा नपुग्न आग्रह गरेका छन्। उनले आफू मकवानपुरका जनताका समस्या उठाउँदै निरन्तर काम गरिरहेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताए। चुनावका बेला सामाजिक सञ्जालमार्फत क्षेत्र नम्बर १ का उम्मेदवारविरुद्ध भोट नदिन बिसाल राज महतले आग्रह गरिएको भनिएको विषयमा छानबिन भइरहेको उनले जानकारी दिए।
“दोषी जो कोही भए पनि कारबाही हुनुपर्छ, तर निर्दोषमाथि अन्याय हुनु हुँदैन,” गौतमले भने। उनले जिल्ला सभापतिको जिम्मेवारी छिट्टै हस्तान्तरण गर्ने तयारी भइरहेकोसमेत स्पष्ट पारे। साथै, मुख्यमन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिसम्म समन्वय गर्दै जिल्लाका समस्या समाधानका लागि आफू सक्रिय रहेको उनले बताउनुभयो। उक्त विवाद समाधानका लागि पार्टीभित्र छलफल जारी रहेको माननिय गौतमले बताएका छन्। 
यता यस घटनालाई लिएर विशालराज महतले आफूविरुद्ध नियोजित षड्यन्त्र भएको आरोप लगाएका छन्। उनले जिल्ला तहदेखि केन्द्रीय अनुशासन विभागसम्म छलफल भइरहेका बेला वैशाख २ गते पार्टी कार्यालय पुगे। त्यही समयमा नगर सदस्य नरहरि चौलागाईँसहित अन्य सदस्यहरू कार्यालय पुग्दा कार्यालय बन्द थियो र चाबी सम्झना बास्ताकोटीको साथमा थियो। चाबी ल्याएर कार्यालय खोलियो, जहाँ करिब एक दर्जन नेता–कार्यकर्ता उपस्थित भए।
उक्त भेटघाटका क्रममा विशालराज महतले आफूमाथि भएको कारबाहीबारे जिज्ञासा राख्दै आफूले पार्टीलाई असहयोग नगरेको, बरु पार्टीभित्र सही व्यक्तिलाई समर्थन गरेको बताएका छन्।
विशालराज महतका अनुसार आउँदै गरेको अधिवेशनमा आफूलाई सभापति बनाउन कार्यकर्ताहरूको समर्थन बढेपछि नेताहरू आफूविरुद्ध सक्रिय भएका हुन्। “म सभापति नबनूँ भनेर योजनाबद्ध रूपमा कारबाहीको नाटक रचियो,” महतको आरोप छ।
घटना थप पेचिलो तब बन्यो जब सोही दिन साँझ क्षेत्रीय सभापति टाँकाराज थापाले नगर सदस्य नरहरि चौलागाईँलाई फोन गरी धम्की दिएको र अपशब्द प्रयोग गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भयो। त्यसको भोलिपल्ट चौलागाईँले “ज्यान मार्ने धम्की” दिएको आरोपसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन्।
यता नगर सदस्य सम्झना बास्ताकोटीले पनि काउन्टर उजुरी दिँदै छलफलमा सहभागी केही व्यक्तिहरूमाथि आरोप लगाएकी छन्। एउटै पार्टीभित्र नेताहरू प्रहरीसम्म पुग्ने अवस्था सिर्जना हुनु रास्वपा मकवानपुरको गम्भीर आन्तरिक कलहको संकेत मानिएको छ।
यस विवादको केन्द्रमा रहेका विशालराज महत मकवानपुरमा सामाजिक अभियन्ताका रूपमा परिचित छन्। उनी “सेवा, सहयोग र आवाजमा हामी” संस्थामार्फत सामाजिक अभियानमा सक्रिय रहँदै आएका छन्।
कोरोना महामारीका बेला फुड बैंक सञ्चालनदेखि स्वास्थ्य शिविर, विद्यालयहरूमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण, हेटौंडा अस्पताल सुधार अभियान, प्रदूषण नियन्त्रण, नगरको फोहोर व्यवस्थापन, सरकारी जग्गा संरक्षण, सुरुङमार्ग पीडितका पक्षमा आवाज उठाउने काममा उनको सक्रियता उल्लेखनीय मानिन्छ।
रास्वपालाई मकवानपुरमा बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका महतलाई भविष्यका सम्भावित सांसद उम्मेदवारका रूपमा समेत हेरिन्थ्यो। तर उनले आफू संसद्को आकांक्षी नभई स्थानीय तहमा रहेर काम गर्ने सोच राखेको बताउँदै आएका छन्। स्पष्ट बोल्ने, दबाबमा नपर्ने र स्वच्छ छवि बनाएका महत पछिल्लो समय भ्रष्टाचार र अनियमितताविरुद्ध आवाज उठाउँदा केही समूहका लागि “टाउको दुखाइ” बन्दै गएको उनी निकट स्रोतको दाबी छ।
यो घटनाले रास्वपा मकवानपुरमा मात्र होइन, केन्द्रसम्म तरंग ल्याएको छ। विवाद अहिले केन्द्रीय अनुशासन विभाग र शीर्ष नेतासम्म पुगेको बताइएको छ। तर पार्टीले यसबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन महतले भने।
यो केवल मकवानपुरको संगठनात्मक विवाद होइन, “परिवर्तनको राजनीति” भन्दै उदाएको रास्वपाको विश्वसनीयतामाथिको ठूलो प्रश्न हो। यदि पार्टीभित्र असहमतिलाई दमन गरिन्छ, लोकप्रिय आवाजलाई दबाइन्छ र नेतृत्व व्यक्तिगत अहंकारमा चल्छ भने “नयाँ राजनीति” को नाराले नै अर्थ गुमाउने विश्लेषण हुन थालेको छ।
















