हेटौंडा / मकवानपुर जिल्लामा रहेका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायले उठाउँदै आएका माग र आन्दोलनप्रति ७ राजनीतिक दलहरूले ऐक्यबद्धता जनाएका छन्।
दलहरूले संयुक्त रूपमा जारी गरेको ध्यानाकर्षणपत्रमार्फत सरकारले सुरक्षा शक्तिको प्रयोग गरी घर–टहरा भत्काउने, हटाउने जस्ता कार्य नगर्न आग्रह गरेका छन्। उनीहरूले यस्तो कदमलाई “राज्य आतंक र दमन” को रूपमा चित्रण गर्दै तत्काल रोक्न सरकारलाई सचेत गराएका छन्।
वक्तव्यमा भूमिहीन तथा सुकुम्बासी र अब्यवस्थित बसोबासी समुदायको मानविय संवेदनालाई ख्याल गर्दै जबर्जस्ती विस्थापनका कारण केही नागरिक आत्महत्या गर्ने तहसम्म पुगेको भन्दै यो अवस्था “दुःखद र दुर्भाग्यपूर्ण” भएको उल्लेख गरिएको छ। साथै, राज्य जनमत विपरीत दमनमा उभिएको देखिएको दाबी पनि गरिएको छ।
संयुक्त मागपत्रमा वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको सत्य तथ्य छानबिन गरी सार्वजनिक गर्न र उनीहरूलाई लालपुर्जाको ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ। साथै, दीर्घकालीन तथा वैकल्पिक व्यवस्थापन सहित समाधान खोज्न सरकारलाई आग्रह गरिएको छ।
ऐक्यबद्धता जनाउने दल र नेताहरू
१. राम घलान (इन्चार्ज) नेकपा (माओवादी), मकवानपुर
२. सुन्दर लामा बज्यू (इन्चार्ज) श्रम संस्कृति पार्टी, मकवानपुर
३. सुरेन्द्र लामा (अध्यक्ष) उज्यालो नेपाल पार्टी, मकवानपुर
४. माननाथ तिमल्सीना (जिल्ला संयोजक) नेपाल कम्युनिस्ट पार्टी, मकवानपुर
५. हरिकृष्ण अधिकारी (जिल्ला संयोजक) नेकपा माले, मकवानपुर
६. विक्रम मगर (संयोजक) नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष), मकवानपुर
उनीहरूले भूमिहीन सुकुम्बासीको अधिकार, बसोबासको सुरक्षा र मानवीय व्यवस्थापन सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

















