हेटौंडा । मकवानपुरका मनहरी र कैलाश गाउँपालिकाका किशोरीहरूलाई स्वरोजगार र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले सञ्चालन गरिएको आधारभूत सिलाइ तथा कटाइ तालिम सम्पन्न भएको छ।
नारी संरक्षण केन्द्रको आयोजना, हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको समन्वय तथा फ्रेन्ड्स अफ डब्लु.पि.सि. नेपालको सहयोगमा तीन महिनासम्म सञ्चालन गरिएको तालिममा ८ जना किशोरी सहभागी भएका थिए।
तालिम समापन कार्यक्रममा सहभागीहरूलाई दुई समूहमा विभाजन गरी दुई वटा सिलाइ मेसिन वितरण गरिएको आयोजकले जनाएको छ। प्राप्त सीपलाई व्यवहारमा उतार्दै आयआर्जनतर्फ अग्रसर हुन सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरिएको थियो।
कार्यक्रम हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने नारी संरक्षण केन्द्रकी अध्यक्ष दिपा गुरुङले सभाध्यक्षता गरेकी थिइन्।
समापन कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरका जिल्ला अध्यक्ष रमिला सापकोटा, मानव अधिकार संगठनकी अध्यक्ष शर्मिला श्रेष्ठ, माइती नेपालकी कार्यक्रम संयोजक माया लामा तथा हिमराइट्स मकवानपुरकी संयोजक कुमारी वाइबालगायतको उपस्थिति रहेको थियो।
वक्ताहरूले महिलाको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिम प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई ग्रामीण तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। उनीहरूले तालिमले किशोरीहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै आफ्नै पेशा व्यवसाय सुरु गर्ने आधार तयार गर्ने बताए।
तालिमका प्रशिक्षक शशी रास्थला र दिव्यस्वरी श्रेष्ठले सहभागीहरूलाई व्यवहारिक सिलाइ तथा कटाइसम्बन्धी प्रशिक्षण दिएका थिए। नारी संरक्षण केन्द्रले विगत १६ वर्षदेखि निरन्तर रूपमा सिलाइ तालिम सञ्चालन गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिइन्।

















