हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिका ले स्थानीय नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र र राहदानी गाउँमै वितरण गर्ने भएको छ। सरकारी सेवा सुधार कार्यक्रमअन्तर्गत “घरदैलो सेवा” अवधारणालाई कार्यान्वयन गर्दै गाउँपालिकाले पहिलोपटक स्थानीय तहबाटै यी सेवा दिन लागेको हो।
गाउँपालिकाका अनुसार वैशाख २५ गते शुक्रबार बिहान ९ बजेदेखि लामिटार ब्लकस्थित गाउँपालिका कार्यालयमा राष्ट्रिय परिचयपत्र र राहदानी वितरण कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रममा जनप्रतिनिधिसँगै मकवानपुरका प्रमुख जिल्ला अधिकारीको पनि सहभागिता रहने बताइएको छ।
प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी का अनुसार २०८० असार मसान्तसम्म जिल्ला प्रशासन कार्यालयमा पुगेर राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका मनहरीका स्थायी बासिन्दाले गाउँपालिकाबाटै परिचयपत्र प्राप्त गर्नेछन्। त्यस्तै हालसम्म राहदानी आवेदन दिएका सेवाग्राहीलाई पनि सोही दिन राहदानी वितरण गरिने तयारी गरिएको उनले बताए।
स्थानीय स्तरमै सेवा उपलब्ध गराउँदा नागरिकको समय र खर्च दुवै बच्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ। यसअघि राहदानी र राष्ट्रिय परिचयपत्र लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता रहेको थियो।
सूचना प्रविधि अधिकृत आशिष मल्ल का अनुसार पछिल्लो चरणमा ८८ जनाले राहदानीका लागि आवेदन दिएका थिए। उनीहरूलाई फोनमार्फत वितरण कार्यक्रममा उपस्थित हुन जानकारी गराइसकिएको उनले बताए।
गाउँपालिकाले वडा कार्यालयमार्फत टोल–टोलसम्म सूचना प्रवाह गरी सेवाग्राहीलाई समयमै जानकारी गराइएको जनाएको छ।

















