हेटौँडा–४ मा शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा जोड दिँदै पूर्वाधार विकास तीव्र

Image

हेटौंडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नविन सिग्देलले वडा क्षेत्रमा विभिन्न पूर्वाधार निर्माणका कार्यहरू तीव्र गतिमा अघि बढिरहेको तथा केही योजनाहरू बोलपत्रको अन्तिम तयारीमा रहेको जानकारी दिनुभएको छ। उहाँले विकासलाई जनताको सेवासँग जोड्दै शिक्षा, स्वास्थ्य, खेलकुद, भाषा–संस्कृति, साहित्य, महिला, बालबालिका, अपाङ्गता, मुस्लिम, दलित तथा जेष्ठ नागरिक लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो।

वडाध्यक्ष सिग्देलका अनुसार जनताको अभिमतलाई सेवामा रूपान्तरण गर्दै उत्कृष्ट वडा र नगर निर्माण गर्ने लक्ष्यका साथ विकास कार्य अघि बढाइएको हो। विकास सबैको साझा विषय भएकाले सबै पक्षको सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

निर्माणाधीन तथा जारी पूर्वाधार कार्यहरू
वडामा रजतजयन्ती सडक निर्माण हाल रोकिएको भए पनि सम्बन्धित निकाय र निर्माण व्यवसायीसँग समन्वय गरी कार्य अघि बढाउने पहल भइरहेको छ। हुप्र पूर्वी सडक तथा वडा प्रहरी कार्यालय अगाडिको सडक निर्माण कार्य जारी छ, यद्यपि कालोपत्रे सामग्री अभावका कारण केही ढिलाइ भएको जनाइएको छ।
श्रमिक माध्यमिक विद्यालय मा ४ तले २४ कोठे भवन तथा भुटनदेवी माध्यमिक विद्यालय को प्राविधिक भवनको दोस्रो तला

निर्माण कार्य धमाधम भइरहेको छ।
त्यसैगरी कर्रा नदी कटान रोक्न ढुंगाको बाल निर्माण, गिरी टोल भित्री सडक स्तरीकरण तथा सामाजिक संस्कार समिति परिसर निर्माण कार्यसमेत अघि बढाइएको छ। हुप्र चौरमा जेष्ठ नागरिकका लागि आश्रय कक्ष निर्माण भइरहेको छ, जसलाई खुला, सफा र सुरक्षित सार्वजनिक स्थलका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

बोलपत्र तथा योजनागत तयारी
सूर्यचोकदेखि कर्रा चोकसम्म सडक स्तरीकरण, प्रजातान्त्रिक पथ, सृजना टोल ढल निर्माण तथा अजरअमर रोड पेटी स्तरीकरणका योजनाहरू बोलपत्र आव्हान तथा सम्झौता प्रक्रियामा रहेका छन्।
गरूढपथ भित्री सडकलाई ढुवानमुक्त बनाउन सडक निर्माण कार्यको तयारीसमेत भइरहेको छ।

समन्वय र गौरवका योजना
प्रदेश सदस्य एकालाल श्रेष्ठ को पहल र वडाको समन्वयमा लाङ्गाली चोकदेखि भुवनेश्वर पथसम्म सडक स्तरीकरण, पशुपति मन्दिरदेखि पारिजात पथसम्म तथा भुवनेश्वर पथदेखि चिसापानी भैरव रोडसम्म पेटी निर्माणका कार्य अघि बढाइने भएको छ।

त्यस्तै उपमहानगरपालिकाको गौरवको योजनाअन्तर्गत भुटनदेवी माध्यमिक विद्यालय मा १२ कोठे भवन निर्माण कार्य भइरहेको छ।
बागमती प्रदेश सरकार, हेटौँडा उपमहानगरपालिका र सडक बोर्डसँगको सहकार्यमा हुप्रदेखि भुवनेश्वर पथसम्म १२ मिटर कालोपत्रे, मित्रनगर सडक मर्मत तथा अजरअमर रोड ओभरले कार्यसमेत अघि बढाइने छ।

वडाध्यक्ष सिग्देलले विकास निर्माणमा सहयोग पुर्‍याउने संघीय सरकार, प्रदेश सरकार, नगर प्रमुख मीनाकुमारी लामा तथा सम्पूर्ण कार्यपालिका सदस्यहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।