हेटौंडा/ हेटौंडा मकवानपुर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका केन्द्रिय अध्यक्ष तथा माननीय हर्क साम्पाङलाई हेटौंडा उपमहानगरपालिका–११, सिमलटारमा भएको कार्यक्रममा सेवा सहयोग आवाज हामी सस्थाले हेटौंडा–काठमाडौं भिमफेदी सुरुङमार्ग निर्माणको नाममा उठाइएको करिब ३४ करोड रुपैयाँबारे गम्भीर ध्यानाकर्षण गराएको छ।
संस्थाका अध्यक्ष बिशाल राज महतका अनुसार सुरुङमार्ग निर्माण गर्ने भन्दै सर्वसाधारणबाट सेयरमार्फत ठूलो रकम संकलन गरिएको भए पनि वर्षौं बितिसक्दा समेत आयोजना अगाडि बढ्न सकेको छैन। आयोजना निर्माणको कुनै ठोस प्रगति नदेखिएपछि लगानीकर्ताहरू अन्योल र चिन्तामा परेका छन्।
पीडित स्थानीयहरूले खसीबाख्रा, अन्नपात, जग्गाजमिन बेचेर तथा जीवनभरको पेन्सन रकमसमेत उक्त आयोजनामा लगानी गरेको तर हालसम्म काम अघि नबढ्दा जनताको भावना र विश्वासमाथि खेलबाड भएको गुनासो रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
भेटघाटका क्रममा पीडित जनताको रकम फिर्ता गराई न्याय दिलाउन सम्बन्धित निकायमाथि दबाब सिर्जना गर्न आग्रह गरेका थिए। सो अवसरमा अध्यक्ष साम्पाङले जनताको समस्या समाधानका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने तथा विषयलाई संसदसम्म पुर्याएर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
“जनताको पसिना र विश्वासको सम्मान हुनैपर्छ,” भन्दै उनले पीडितहरूको पक्षमा निरन्तर आवाज उठाउने बताएका छन्।















