हेटौंडा/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ को सातौँ महाधिवेशन अन्तर्गत हुने निर्वाचनमा मकवानपुरका अनुभवी यातायात व्यवसायी गोकर्ण प्रसाद पराजुलीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। गण्डकी प्रदेशको पोखरामा जारी महाधिवेशनअन्तर्गत निर्वाचन आगामी मंगलबार हुने तय भएको छ।
लामो समयदेखि यातायात क्षेत्रमा सक्रिय पराजुलीले व्यवसायीहरूको हकहित, संगठनात्मक एकता र नीतिगत सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। महासङ्घभित्र देखिएको विभाजन अन्त्य गर्दै सबै यातायातसम्बन्धी संघ–संगठनलाई एउटै साझा छातामुनि ल्याउने आफ्नो प्राथमिकता रहेको उनले बताएका छन्।
पराजुलीले यातायात क्षेत्र अहिले असहज नीति, व्यवसायिक असुरक्षा, बैंक ब्याज, कर तथा बीमासम्बन्धी समस्याबीच संघर्षरत रहेको उल्लेख गर्दै व्यवसायीमैत्री वातावरण निर्माणका लागि आफूले सक्रिय भूमिका खेल्ने बताएका छन्। उनले महासङ्घको संस्थागत सुदृढीकरण, आधुनिक भवन निर्माण तथा राज्यसँग प्रभावकारी समन्वयमार्फत व्यवसायीको आवाज बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
दुर्घटनापीडित व्यवसायीका लागि राहत प्रणालीलाई थप प्रभावकारी बनाउने योजना समेत उनले अघि सारेका छन्। यसअघि विभिन्न यातायात संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका पराजुली नारायणी यातायात व्यवसायी संघका पूर्वअध्यक्ष, मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका पूर्वअध्यक्ष तथा मकवानपुर उद्योग वाणिज्य संघ का पूर्वमहासचिव समेत हुन्।
यातायात क्षेत्रमा अनुभव, संगठन निर्माणको अभ्यास र व्यवसायीबीच समन्वयकारी भूमिकाका कारण पराजुलीलाई यसपटकको निर्वाचनमा बलियो उम्मेदवारका रूपमा हेरिएको व्यवसायीहरू बताउँछन्।















