हेटौंडा/ मकवानपुर उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश बीच उद्योगी–व्यवसायीका साझा समस्या समाधान र संस्थागत सहकार्यलाई केन्द्रमा राखेर बुधबार हेटौँडामा छलफल सम्पन्न भएको छ।
हालै सम्पन्न महासंघ बागमती प्रदेशको नवौं प्रदेश सभा तथा अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वसँगको भेटघाटमा स्थानीय उद्योगी व्यवसायीले भोगिरहेका समस्या, मेला–महोत्सव व्यवस्थापन, नापतौल कार्यालय स्थापना तथा व्यवसायिक वातावरण सुधारका विषयमा व्यापक छलफल भएको हो।
कार्यक्रममा प्रमोद सिंह रानाभाट ले करचुक्ता गरेका व्यवसायीको सदस्यता मात्र नवीकरण गर्ने नीति कार्यान्वयन गरिएको जानकारी दिँदै व्यवसायमैत्री वातावरण निर्माणका लागि महासंघको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले जिल्ला तथा नगर उद्योग वाणिज्य संघका समस्या तत्काल सम्बोधन गर्न छुट्टै हेल्प डेस्क स्थापना गर्नुपर्ने धारणा राख्नुभयो।
रानाभाटले पछिल्लो समय जथाभावी मेला आयोजना हुने प्रवृत्तिले विकृति निम्त्याउन सक्ने भन्दै मेला तथा महोत्सव सञ्चालनको अधिकार सम्बन्धित जिल्ला र नगर उद्योग वाणिज्य संघलाई मात्र दिनुपर्ने प्रस्ताव अघि सार्नुभयो। साथै, प्रदेश राजधानी हेटौँडा मा हालसम्म नापतौल कार्यालय नहुनु विडम्बनापूर्ण रहेको उल्लेख गर्दै यसको स्थापना अपरिहार्य भएको बताउनुभयो।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल ले आगामी २०८३ सालमा मउवासंघले महोत्सव आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिँदै प्रदेश सरकारको बजेटलाई प्रभावकारी बनाउन उद्योग वाणिज्य संघहरूले योजनाबद्ध प्रस्ताव ल्याउनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, महासंघ बागमती प्रदेशका अध्यक्ष बेदबहादुर श्रेष्ठ ले मकवानपुर उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बागमती प्रदेशको प्रादेशिक भवन हेटौँडामै निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिँदै त्यसका लागि स्थानीय संघसंस्थाको सहयोग आवश्यक पर्ने बताउनुभयो।
छलफलमा सहभागी व्यवसायीहरूले स्थानीय आर्थिक गतिविधि सुदृढ बनाउन प्रदेश र जिल्ला तहबीच समन्वय अझ प्रभावकारी हुनुपर्ने धारणा राखेका थिए।














