हेटौंडा/ हेटौँडा उपमहानगरपालिका–४ ले विद्यालय तहदेखि नै विद्यार्थीलाई व्यवहारिक तथा आत्मनिर्भर बनाउने उद्देश्यसहित सीपमूलक तालिम कार्यक्रम सुरु गरेको छ। वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ९ मा अध्ययनरत ७५ जना विद्यार्थीलाई लक्षित गर्दै कपाल काट्ने, ब्युटी पार्लर तथा इलेक्ट्रिकल सम्बन्धी तालिम सञ्चालन गरिएको हो।
तालिम कार्यक्रमको बिहीबार संयुक्त रूपमा उद्घाटन गर्दै वडा अध्यक्ष नवीन सिग्देल ले विद्यार्थीलाई पाठ्यपुस्तकमात्र नभई व्यवहारिक ज्ञान र व्यवसायिक सीप पनि आवश्यक रहेको बताए। उनले शनिबार र आइतबारको बिदाको समयलाई सदुपयोग गर्दै जेठ र असार महिनाभर तालिम सञ्चालन गरिने जानकारी दिए।
कार्यक्रममा सूर्यप्रसाद घिमिरे ले वडा कार्यालयले सुरु गरेको कार्यक्रम विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण हुने बताए। उनले सिकेको सीपलाई व्यवहारमा उतार्न विद्यार्थीलाई आग्रह गरे।
त्यस्तै, कार्यक्रमका सभाध्यक्ष तथा शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहाल ले स्थानीय तहबाट विद्यालयस्तरमै यस्तो अभ्यास सुरु हुनु उदाहरणीय कार्य भएको उल्लेख गर्दै विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा वडा सचिव रामप्रसाद गुरागाईं, सहायक प्रधानाध्यापक भरत पोखरेल, वेदराज कोइराला लगायत प्रशिक्षकहरूको उपस्थिति रहेको थियो।














