युवा सहभागितामार्फत सङ्घीयता बुझाइ विस्तार गर्ने उद्देश्यसहित हेटौंडामा संवाद कार्यक्रम सम्पन्न

Image

हेटौंडा/ नेपालमा सङ्घीय शासन प्रणाली, अन्तर–सरकारी सम्बन्ध, समावेशी शासन तथा वित्तीय सङ्घीयताबारे युवाहरूमा साझा बुझाइ विकास गर्ने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशस्तरीय युवा संवाद कार्यक्रम सम्पन्न भएको छ।

प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (PLGSP/UNDP) र फेडरलिज्म एण्ड लोकलाइजेशन सेन्टर (FLC) को सहकार्यमा आयोजित कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका युवा, विद्यार्थी, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा नागरिक समाजका करिब ५८ जना प्रतिनिधिको सहभागिता रहेको थियो।

कार्यक्रममा सङ्घीयता कार्यान्वयन, समावेशी लोकतन्त्र, सरकारका तहबीचको अन्तरसम्बन्ध, युवाको भूमिका तथा सहभागितामूलक शासन प्रणालीका विविध विषयमा छलफल गरिएको थियो। विशेषगरी लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) सम्बन्धी सवाललाई केन्द्रमा राखेर विभिन्न विषयगत सत्र सञ्चालन गरिएको आयोजकले जनाएको छ।

समूहगत अभ्यास, रोल–प्ले र खुला संवादमार्फत सङ्घीय शासन प्रणालीको व्यवहारिक पक्ष, प्रदेश तथा स्थानीय तहको जिम्मेवारी र नीति निर्माण प्रक्रियामा युवाको सहभागिताबारे सहभागीहरूले धारणा राखेका थिए। कार्यक्रममा प्रतिनिधित्व मात्र नभई वास्तविक समावेशिता सुनिश्चित गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

छलफलका क्रममा सामाजिक, भाषिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै समावेशी, उत्तरदायी र प्रभावकारी शासन प्रणाली सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो। महिला, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न राज्यका सबै तह जिम्मेवार बन्नुपर्ने धारणा समेत व्यक्त गरिएको थियो।

कार्यक्रमअन्तर्गत विभिन्न विषयगत सत्र सञ्चालन गरिएको थियो। ‘सङ्घीयता बुझाइ’ विषयमा डा. खिमलाल देवकोटा ले सङ्घीयताको आधारभूत अवधारणा, सिद्धान्त र संरचनाबारे सहजीकरण गरेका थिए। उनले वित्तीय सङ्घीयताको व्यवहारिक पक्ष, स्रोत वितरण तथा अनुदान प्रणालीबारे ‘बजेट सिमुलेसन’ सत्रमार्फत अभ्याससमेत गराएका थिए।

त्यसैगरी, संविधानसभा सदस्य प्रह्लाद लामिछाने ले संघ, प्रदेश र स्थानीय तहबीचको कार्यगत जिम्मेवारी तथा अन्तर–सरकारी समन्वयसम्बन्धी सत्र सञ्चालन गरेका थिए। ‘समावेशिता र सङ्घीयता’ विषयक सत्रमा प्रकाश पन्थ ले प्रतिनिधित्व र वास्तविक सशक्तीकरणबीचको अन्तरबारे सहजीकरण गरेका थिए।

‘युवा उत्तरदायित्व नवप्रवर्तन प्रयोगशाला’ सत्रमा युवा नेतृत्वमा आधारित शासन सुधारका उपायबारे छलफल गरिएको थियो, जसको सहजीकरण मोहम्मद आयुब ले गरेका थिए। अन्तिम सत्रमा प्रदेशस्तरीय युवा सङ्घीयता घोषणापत्र तयार गरिएको थियो, जसको सहजीकरण कृष्णकुमार साह ले गरेका थिए।

कार्यक्रमको सञ्चालन अधिवक्ता लुमना तुलाधर उप्रेती ले गरेकी थिइन्। आयोजकका अनुसार युवा संवाद कार्यक्रम यसअघि जनकपुर र विराटनगर मा सम्पन्न भइसकेको छ भने आगामी दिनमा अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिनेछ।