हेटौंडाका १२ वडामा समुदायस्तरीय कानुनी सचेतना कार्यक्रम सम्पन्न

Image

हेटौंडा/ टोल विकास संस्था नगर समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोगमा समुदायस्तरीय कानुनी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका वडा नं. १, ३, ४, ६, ७, ८, ९, ११, १३, १४, १५ र १९ गरी १२ वटा वडामा सम्पन्न गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको व्यवस्थापन सम्बन्धित वडा समन्वय समिति तथा स्थानीय टोल विकास संस्थाहरूले गरेका थिए।

कार्यक्रममार्फत समुदायमा हुने सामाजिक विवाद, घरेलु झैझगडा, मेलमिलाप, न्यायिक प्रक्रिया, नागरिक अधिकार तथा कर्तव्य, सामाजिक उत्तरदायित्व, साइबर अपराध, महिला तथा बालअधिकार लगायतका विषयमा सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो। टोल-टोलमा हुने सामान्य प्रकृतिका विवादहरूलाई समुदायस्तरमै संवाद, सहकार्य र कानुनी प्रक्रियामार्फत कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक राजेश बाँनियाले समाजमा बढ्दै गइरहेका सामाजिक तथा पारिवारिक विवाद न्यूनीकरण गर्न यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले समुदायमा कानुनी चेतना अभिवृद्धि गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै स्थानीय स्तरमा मेलमिलाप र सहकार्यको संस्कृतिलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले धेरै विवाद समयमै संवाद र समझदारीमार्फत समाधान गर्न सकिने बताउँदै टोल विकास संस्थाहरूलाई सामाजिक सद्भाव, एकता र समुदायस्तरको नेतृत्व विकास गर्ने महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।

त्यसैगरी टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले समुदायमा कानुनी ज्ञान र सचेतनाको अभावका कारण सामान्य विवादले समेत जटिल रूप लिने गरेको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले समाजलाई सकारात्मक दिशा प्रदान गर्नुका साथै जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।अध्यक्ष अधिकारीले टोल विकास संस्थाहरूलाई समुदाय परिवर्तनको आधारशक्तिका रूपमा विकास गर्दै सामाजिक उत्तरदायित्व, सहकार्य, मेलमिलाप र सकारात्मक सामाजिक संस्कार निर्माणमा सक्रिय बनाइनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा विभिन्न टोल विकास संस्था, वडा समन्वय समिति, महिला समूह, नारी समाजका अगुवा व्यक्तित्व, युवा, अभिभावक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा न्यायिक समितिका सदस्य ज्ञान बहादुर थापा, अधिवक्ता सुजन तिमल्सिना, अमृत बर्तौला, सन्तोष पौडेल लगायतले सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने हेटौंडा उपमहानगरपालिका न्यायिक समिति, वडा समन्वय समितिहरू, टोल विकास संस्थाहरू, विभिन्न संघसंस्था, महिला समूह, स्वयंसेवक तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।