हेटौँडा–४ वडा कार्यालयद्वारा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति व्यवस्था

Image

हेटौंडा/ हेटौँडा–४ नं. वडा कार्यालयले विद्यालयहरूसँगको सहकार्यमा २० जना अति विपन्न विद्यार्थीलाई नि:शुल्क अध्ययन गराउने भएको छ। यसका लागि वडा कार्यालय, भुटनदेवी माध्यमिक विद्यालय र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय बीच शैक्षिक वर्ष २०८३ देखि निरन्तर लागू हुने गरी सम्झौता तथा प्रतिबद्धता गरिएको हो।

सम्झौता पत्रमा वडा नं. ४ का अध्यक्ष नवीन सिग्देल, वडा सचिव रामप्रसाद गुरागाईं, भुटनदेवी माविका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे तथा आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईं ले हस्ताक्षर गर्नुभएको छ।

सम्झौताअनुसार छात्रवृत्तिका लागि अति विपन्न, दलित, सीमान्तकृत, द्वन्द्वपीडित, भूमिहीन, अभिभावकविहीन तथा सडक बालबालिकालाई प्राथमिकता दिइनेछ। साथै विद्यालयले सञ्चालन गर्ने खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई समेत विशेष प्राथमिकतामा राखिने उल्लेख गरिएको छ।

दुवै विद्यालयमा कक्षा ११ र १२ का १०/१० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। विद्यार्थीहरूको ६ महिनाको मासिक सहयोग शुल्क र भर्ना शुल्क वडा कार्यालयले व्यहोर्नेछ भने विद्यालयले थप ६ महिनाको मासिक शुल्क छुट दिने सम्झौतामा उल्लेख छ।

यो व्यवस्था शैक्षिक वर्ष २०८३ देखि कार्यान्वयनमा ल्याइने र प्रत्येक शैक्षिक वर्षको सुरुवातसँगै नवीकरण गरिने जनाइएको छ।

वडा अध्यक्ष नवीन सिग्देल ले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी पढाइबाट वञ्चित नहोस् भन्ने उद्देश्यले पूर्ण नि:शुल्क छात्रवृत्तिको व्यवस्था गरिएको बताउनुभयो।