श्रीमान्को कुटपिटबाट हेटौंडामा महिलाको मृत्यु

Image

हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल तरकारी मण्डीस्थित डेरामा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ घर भई हाल हेटौंडा–१ चौकिटोलमा बस्दै आएकी अन्दाजी ४२ वर्षीया ओमकुमारी भुजेल रहेकी छन्। प्रहरीले उनका श्रीमान् अन्दाजी ४५ वर्षीय रामलाल ब्लोनलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब १०:३० बजे रामलालले आफ्नी श्रीमती ओमकुमारीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी चौकिटोलबाट खटिएको टोलीले घाइते महिलाको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएको थियो।

तर उपचारकै क्रममा बिहान करिब ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव हेटौंडा अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको मुख, दुवै हातखुट्टा तथा ढाडमा निलडामसहित चोटपटक देखिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न श्रीमान् रामलाल ब्लोनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर थप अनुसन्धान भइरहेको छ।

घटनास्थल प्रहरी चौकी चौकिटोलबाट करिब १ किलोमिटर पश्चिमतर्फ पर्ने जनाइएको छ।