स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न, HIV उपचार सेवाको प्रभावकारितामा जोड

Image

हेटौंडा/ AHF Nepal को सहयोग तथा हेटौंडा अस्पताल ART केन्द्र को समन्वयमा स्थानीय परियोजना सल्लाहकार समिति (LPAC/MPAC) को बैठक हेटौंडा मा सम्पन्न भएको छ। बैठक हेटौंडा उपमहानगरपालिका नगर प्रमुखको अध्यक्षतामा आयोजना गरिएको थियो।

बैठकमा उपमहानगरपालिकाका परियोजना सल्लाहकार समिति सदस्यहरू, हेटौंडा अस्पतालका प्रतिनिधिहरू, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर लगायत विभिन्न सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो। कार्यक्रममा AHF Nepal को सहयोगमा हेटौंडा अस्पताल ART केन्द्रमार्फत सञ्चालित HIV/AIDS रोकथाम, परीक्षण, उपचार तथा हेरचाह सेवाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी सन् २०२७ को कार्यक्रम तथा कार्ययोजनामाथि विस्तृत छलफल गरिएको थियो।

प्रस्तुत तथ्यांकअनुसार हाल हेटौंडा अस्पताल ART केन्द्रमा ३४८ जना HIV संक्रमित व्यक्ति सक्रिय रूपमा उपचारमा रहेका छन्। सेवाग्राहीहरूमा पुरुष, महिला तथा तेस्रोलिंगी समुदायका व्यक्तिहरू समावेश रहेका छन्। HIV संक्रमित व्यक्तिहरूको Viral Load Suppression Rate ९८ प्रतिशत पुगेको जानकारी दिइएको थियो, जुन उपचारको प्रभावकारिता तथा औषधि सेवनको निरन्तरताको महत्वपूर्ण सूचक मानिन्छ। साथै HIV परीक्षणपछि संक्रमित व्यक्तिलाई उपचार सेवामा जोड्ने कार्यमा १०० प्रतिशत सफलता हासिल भएको जानकारी पनि बैठकमा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा HIV रोकथामका लागि कन्डम वितरण, समुदायस्तरीय द्रुत HIV परीक्षण, TB तथा यौनरोग परीक्षण, गर्भवती HIV संक्रमित आमाहरूको निगरानी, घरमै पुगेर परामर्श सेवा (Home Visit), उपचार निरन्तरता, पोषण सहयोग, यातायात सहयोग तथा स्वास्थ्य बीमा कार्यक्रममा सहजीकरण लगायतका सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको जानकारी गराइएको थियो।

बैठकमा HIV संक्रमित व्यक्तिहरूले भोग्दै आएका सामाजिक विभेद, कलंक (Stigma and Discrimination), उपचारबाट हराउने (LTFU), बसाइँसराइ, आर्थिक कठिनाइ, नागरिकता तथा जन्मदर्ता समस्या जस्ता चुनौतीहरूबारे समेत छलफल गरिएको थियो। यस्ता समस्याको समाधानका लागि स्थानीय सरकार, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायहरूबीच थप समन्वय र सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।

उक्त अवसरमा अमृत लामिछाने ले वार्षिक प्रगति, उपलब्धि, चुनौती, तथ्यांक विश्लेषण तथा आगामी सन् २०२७ को कार्ययोजनासम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले HIV रोकथाम तथा उपचार सेवाको प्रभावकारिता बढाउन समुदायस्तरीय पहुँच विस्तार, Viral Load परीक्षणको दायरा वृद्धि, उपचार निरन्तरतामा जोड तथा PLHIV हरूको जीवनस्तर सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
कार्यक्रम AHF Nepal को सहयोगमा सम्पन्न भएको हो।