ऐतिहासिक चौतारो संरक्षणसँगै सुरक्षा व्यवस्थापन आवश्यक—अभियान्ताको आग्रह

Image

हेटौंडा/ मकवानपुरगढी दरबार जाने मुख्य सडकको बीचभागमा अवस्थित ऐतिहासिक चौतारो हाल जीर्ण अवस्थामा पुग्दै सडक सुरक्षाका लागि चुनौती बनेको भन्दै स्थानीय स्तरमा यसको सुरक्षित व्यवस्थापन गर्न माग उठ्न थालेको छ।

“सेवा, सहयोग र आवाजमा हामी” का अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जालमार्फत यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनले ऐतिहासिक सम्पदा संरक्षण महत्वपूर्ण भए पनि त्यसले जनजीवन र यातायात सुरक्षामा खतरा सिर्जना गर्न नहुने स्पष्ट पारेका छन्।

उनका अनुसार उक्त चौतारो तत्कालीन साहिसेना कालमा निर्माण गरिएको ऐतिहासिक संरचना हो, जुन एक समय यात्रुहरूको विश्राम स्थल तथा सामाजिक भेटघाटको केन्द्रका रूपमा प्रयोग हुन्थ्यो। तर अहिले सडकको बीचभागमा स्तम्भसरह उभिएको जीर्ण संरचनाले दुर्घटनाको सम्भावना बढाएको उनको भनाइ छ।

मकवानपुरगढी हुँदै काठमाडौं आवतजावत गर्ने सवारी साधनको चाप अत्यधिक रहेको उक्त सडक खण्डमा दैनिक हजारौँ सवारी सञ्चालन हुने गरेका छन्। स्थानीयवासीका अनुसार सो संरचनामा सवारी ठोक्किने घटना पटक–पटक दोहोरिने गरेको छ, जसले भविष्यमा गम्भीर दुर्घटना निम्त्याउन सक्ने जोखिम बढाएको छ।

अभियान्ता महतले सम्पदाको संरक्षण गर्दा आधुनिक व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै आवश्यक परे संरचनालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, चेतावनी संकेत राख्न वा अन्य वैकल्पिक उपाय अपनाउन सकिने सुझाव दिएका छन्।

उनले स्थानीय सरकार, सडक विभाग तथा पुरातात्त्विक निकायलाई तत्काल समन्वय गरी उपयुक्त निर्णय लिन आग्रह गर्दै समयमै पहल गरिए ऐतिहासिक सम्पदा जोगिनुका साथै सम्भावित दुर्घटनाबाट पनि बच्न सकिने बताएका छन्।