तथ्य र प्रमाणबिनाको अभिव्यक्तिले जनतालाई भ्रमित पार्न नहुने : फुर्वा दोर्जे लामा

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहज्यूले व्यक्त गर्नुभएको धारणाप्रति आपत्ति जनाउनुभएको छ।

उहाँले देशसामु रहेका आर्थिक, सामाजिक तथा विकाससम्बन्धी चुनौतीहरूको समाधानमा केन्द्रित हुनुपर्ने वर्तमान अवस्थामा तथ्य र प्रमाणमा आधारित स्पष्ट अभिव्यक्ति आवश्यक रहेको बताउनुभयो। जनताको भावना र अपेक्षाप्रति संवेदनशील हुँदै राष्ट्रिय हितका विषयमा जिम्मेवार अभिव्यक्ति आउनुपर्ने आफ्नो विश्वास रहेको उहाँको भनाइ छ।

वडा अध्यक्ष लामाले लोकतान्त्रिक व्यवस्थामा आलोचना र प्रश्नहरूको सम्मानपूर्वक सम्बोधन गर्नु सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्रीको दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावनामा ठेस पुगेको महसुस भएको बताउँदै, यदि नेपालले भारतको भूमि वा सीमा मिचेको भन्ने आशय व्यक्त गरिएको हो भने त्यसको तथ्य र प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभयो।

“मेचीदेखि महाकालीसम्मको सीमाना क्षेत्रमध्ये कुन स्थानमा नेपालले भारतको भूमि मिचेको छ भन्ने स्पष्ट विवरण र तथ्याङ्क प्रधानमन्त्रीसँग छ कि छैन?” भन्दै उहाँले प्रश्न गर्नुभयो। प्रमाणबिना यस्ता अभिव्यक्ति दिनु उपयुक्त नहुने र यसले जनतालाई भ्रमित पार्न सक्ने उहाँको धारणा छ।

प्रधानमन्त्री कुनै एक राजनीतिक दलको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा प्रधानमन्त्री भएको उल्लेख गर्दै उहाँले राष्ट्रिय महत्वका विषयमा गम्भीर अध्ययन, तथ्यगत आधार र जिम्मेवारीबोधका साथ अभिव्यक्ति दिन आग्रह गर्नुभयो।

साथै, उहाँले सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई कुनै पनि विषयमा निष्कर्ष निकाल्नुअघि तथ्य र प्रमाणको आधारमा विवेकपूर्ण ढंगले विचार गर्न तथा भ्रामक सूचनाको पछि नलाग्न हार्दिक अनुरोध गर्नुभएको छ।