हेटौंडा/ विश्व वातावरण दिवस–२०८३ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज हेटौंडा उपमहानगरपालिका–१ स्थित पाथीभरा मन्दिर जाने बाटो क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न जातका १०० भन्दा बढी फुलका बिरुवाहरू रोपिएका छन्।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हेटौंडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहाल, हेटौंडा उपमहानगरपालिकाको वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी, वातावरण इन्जिनियर चन्दा खड्का, वातावरण शाखा प्रमुख हिमप्रसाद पौडेल, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष एवं कार्यक्रम संयोजक देवकुमार श्रेष्ठ, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–११ का अध्यक्ष यज्ञ बहादुर आचार्य लगायत जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय बासिन्दा तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले वृक्षारोपण केवल बिरुवा रोप्ने कार्य मात्र नभई भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्ने महत्वपूर्ण अभियान भएको बताइन्। उनले वातावरण संरक्षणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै रोपिएका बिरुवाको संरक्षणमा स्थानीय समुदाय, मन्दिर व्यवस्थापन समिति तथा टोल विकास संस्थाहरूले विशेष जिम्मेवारी लिनुपर्ने बताइन्।
नगरलाई हराभरा, स्वच्छ र वातावरणमैत्री बनाउने अभियानमा उपमहानगरपालिका निरन्तर लागिरहेको उनको भनाइ थियो। कार्यक्रमका अध्यक्ष एवम् टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले विश्व वातावरण दिवसलाई केवल औपचारिकतामा सीमित नगरी व्यवहारिक रूपमा वातावरण संरक्षणका गतिविधिहरू सञ्चालन गरिएको बताए।
उनले गत वर्ष विश्व वातावरण दिवस तथा अन्य अवसरहरूमा यस क्षेत्रमा रोपिएका बिरुवाहरू स्थानीय समुदायको संरक्षण र अपनत्वका कारण राम्रो अवस्थामा रहेको उल्लेख गर्दै यस वर्ष थप क्षेत्रमा वृक्षारोपण गरिएको जानकारी दिए।
वातावरण संरक्षण सरकार वा कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै उनले रोपिएका बिरुवाहरूको दीर्घकालीन संरक्षणका लागि स्थानीय बासिन्दा, मन्दिर व्यवस्थापन समिति तथा टोल विकास संस्थाहरूले प्रतिबद्धता व्यक्त गरेको बताए।
कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ नगर निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएका विविध गतिविधिहरूले वातावरणीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
वृक्षारोपण कार्यक्रमले पाथीभरा मन्दिर क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरणीय सन्तुलन कायम गर्न र हरियाली विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।















