विश्व वातावरण दिवस-२०८३ को अवसरमा बोत्तल देउँ, बिरूवा लिउँ कार्यक्रम सम्पन्न

Image

हेटौंडा/ विश्व वातावरण दिवस–२०८३ को अवसरमा हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नं. १८ र वडा नं. ६ मा बोतल संग फलफूलका बिरुवा साट्ने कार्यक्रम सम्पन्न भएको छ।

“१० वटा बोतलका बिरुवा बराबर १ वटा फलफूलको बिरुवा” साट्ने व्यवस्था गरिएको उक्त कार्यक्रममा दुई स्थानबाट गरी ४०० भन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले खर गएका कुनै पनि प्लास्टिकका बोतल ल्याई उन्नत जातका फलफूलका बिरुवा प्राप्त गरेका थिए।

कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा घरघरमा फलफूल उत्पादनको संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले नगरलाई हराभरा र वातावरणमैत्री बनाउने अभियानमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष अनिलकुमार बानियाँ ले यस्ता कार्यक्रमले वातावरण संरक्षणसँगै स्थानीय स्तरमा फलफूल उत्पादन बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले घरमै उत्पादन गरेका बिरुवाको उचित उपयोग हुनुका साथै फलफूलका बिरुवा प्राप्त गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका थिए। यस्ता कार्यक्रमले वातावरण संरक्षणप्रति नागरिकको चासो बढाउनुका साथै वृक्षारोपण अभियानलाई थप प्रभावकारी बनाएको उनीहरूको भनाइ थियो।

कार्यक्रम अन्तर्गत उन्नत जातका लिची, आँप, अम्बा, एभोकाडो, कागती लगायतका फलफूलका बिरुवा वितरण गरिएको थियो।
आयोजकका अनुसार विश्व वातावरण दिवस–२०८३ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत नगरका विभिन्न ६ स्थानमा यस्ता कार्यक्रम सञ्चालन हुने छन्। अभियानमार्फत १,००० भन्दा बढी फलफूलका बिरुवा वितरण गर्ने लक्ष्य रहेको र हालसम्म उत्साहजनक सहभागिता प्राप्त भएको जनाइएको छ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा फलफूल खेती विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले नगरवासीमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।