हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मुक्तानले आर्थिक वर्ष २०८३/०८४ को संघीय तथा प्रदेश बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आफ्नो वडाका लागि उल्लेखनीय योजना नपरेको गुनासो गरेका हुन्।
वडा अध्यक्ष मुक्तानले संघीय बजेटमा “एउटा कुवा निर्माण गर्न समेत बजेट नआएको” उल्लेख गर्दै प्रदेश बजेटप्रति पनि अपेक्षाअनुसार सम्बोधन नभएको बताएका छन्। उनले बजेटप्रति संकेत गर्दै लेखेका छन्, “आशाका दीपहरू बलिरहे, तर हाम्रो आँगनसम्म उज्यालो खासै आएन।”
उनले केही योजना परेको स्वीकार गर्दै ती योजनालाई “कतै कनिका छरिएझैँ केही योजना झरे” भन्दै टिप्पणी गरेका छन्। तर ती योजनाले क्षेत्रको समग्र विकास र जनअपेक्षा पूरा गर्न नसक्ने उनको भनाइ छ।
मुक्तानले विकास निर्माणका योजना र बजेट विनियोजनमा पहुँच र राजनीतिक प्रभावको भूमिका रहेको संकेत गरेका छन्। “योजना बैंकका थुप्रै सपना किनारामा उभिएर हेरिरहे, पहुँचका पाल चढेका डुङ्गाहरू भने सजिलै किनारा लागिरहे,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।
आफू जनताको भरोसाको प्रतिनिधि भएको उल्लेख गर्दै उनले व्यक्तिगत लाभ वा कृपाका लागि दौडधुप गर्ने संस्कार आफूमा नरहेको बताएका छन्। “म त वडा अध्यक्ष मात्र, जनताको भरोसाको भारी बोकेको एक प्रतिनिधि। न घर–घर ढोका चहार्ने बानी छ, न क्वाटर–क्वाटर धाएर कृपा माग्ने संस्कार,” उनले उल्लेख गरेका छन्।
उनले आफ्नो क्षेत्रको विकासका लागि निर्णय गर्ने तहमा स्थानीय प्रतिनिधित्व आवश्यक रहेको धारणा राख्दै आफ्नै वडाबाट मेयर, आफ्नै क्षेत्रबाट माननीय तथा आफ्नै भूगोलबाट मन्त्री बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।
“किनकि निर्णयका टेबलमा आफ्नो कुर्सी नहुँदा, सपनाहरू प्रतीक्षामा बस्दा रहेछन्,” भन्दै उनले आफ्नो गाउँको विकास र उज्यालोका लागि संघर्ष जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
वडा अध्यक्ष मुक्तानको यो अभिव्यक्तिले बजेट वितरणमा क्षेत्रीय सन्तुलन, पहुँच र प्रतिनिधित्वको विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ।

















