स्वस्थ र सकारात्मक जीवनका लागि योग आवश्यक : नगर प्रमुख लामा

Image

हेटौडा/ हेटौंडा स्वस्थ जीवनशैली, मानसिक शान्ति र शारीरिक तन्दुरुस्तीको सन्देश प्रवाह गर्ने उद्देश्यसहित मनाइँदै आएको अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा हेटौंडामा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

भारतीय महावाणिज्यदूतावास, वीरगञ्जको आयोजनामा सम्पन्न १२ औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ अन्तर्गत आयोजित योग अभ्यास सत्रको हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले समुद्घाटन गरेकी हुन् । बुधबार (आज) हेटौँडामा आयोजित योग अभ्यास सत्रको नगरप्रमुख लामाले उद्घाटन गरेकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख मीना कुमारी लामाले योग केवल शारीरिक व्यायामको माध्यम मात्र नभई स्वस्थ, अनुशासित र सकारात्मक जीवन जिउने कला भएको बताइन् । आधुनिक जीवनशैलीसँगै बढ्दै गएको मानसिक तनाव, चिन्ता र विभिन्न स्वास्थ्य समस्याबाट मुक्त हुन योग प्रभावकारी साधन भएको उल्लेख गर्दै उनले नियमित योग अभ्यासलाई दैनिक जीवनको अभिन्न अंग बनाउन आग्रह गरिन् ।

योगले शरीर, मन र आत्माबीच सन्तुलन कायम गरी व्यक्तिलाई स्वस्थ, ऊर्जावान र सकारात्मक बनाउने भएकाले यसको महत्व दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ थियो । पछिल्लो समय बढ्दै गएको मानसिक तनाव, अस्वस्थ जीवनशैली र विभिन्न रोगहरूबाट बच्न योग प्रभावकारी माध्यम बनेको उल्लेख गर्दै उनले योगलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा विभिन्न संघसंस्था, जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले सामूहिक रूपमा योग अभ्यास गर्दै नियमित योगले शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन र आध्यात्मिक उन्नयनमा पु¥याउने योगदानबारे जानकारी लिएका थिए । कार्यक्रममा भारतको महावाणिज्यदूत देवी सहाय मीनाको सभाध्यक्षता रहेको थियो ।

संयुक्त राष्ट्र संघले सन् २०१४ डिसेम्बर ११ मा आफ्नो प्रस्ताव नं. ६९÷१३१ मार्फत जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरेको थियो। नेपालसहित १७७ राष्ट्रले सह–प्रायोजन गरेको उक्त प्रस्ताव संयुक्त राष्ट्र संघको इतिहासमै सबैभन्दा बढी समर्थन प्राप्त प्रस्तावमध्ये एक मानिन्छ । त्यसयता विश्वभर योगका फाइदाबारे जनचेतना फैलाउने उद्देश्यसहित प्रत्येक वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ ।