हेटौँडा । बागमती प्रदेश सरकारले हेटौँडा–६ स्थित गौरीटार अन्तर्राष्ट्रिय रङ्गशालालाई खेलकुदसँगै प्रशिक्षण र खेलाडी उत्पादनको केन्द्रका रूपमा विकास गर्ने भएको छ । बुधबार गौरीटार रङ्गशालामा तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ को उद्घाटन गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गौरीटारलाई प्रदेश सरकारको गौरवको योजनाका रूपमा अघि बढाइएको बताए ।
उनले गौरीटार रङ्गशालालाई सौन्दर्यीकरण, कभर्ड हल, अभ्यासस्थल, लाईट व्यवस्था र विभिन्न खेल विधाका पूर्वाधारसहित व्यवस्थित बनाइने बताए । राष्ट्रिय, अन्तरप्रदेश र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सकिने गरी रङ्गशालालाई विकास गर्ने प्रदेश सरकारको तयारी रहेको उनको भनाइ छ ।
बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन समारोह मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यता तथा युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालको सभाध्यक्षतामा सम्पन्न भएको हो । उद्घाटन समारोहमा विभिन्न खेलकुद प्रदर्शनी प्रस्तुत गरिएको थियो भने गायिका समीक्षा अधिकारी र मकवानपुरकी गायिका प्रतिमा अर्यालको सांगीतिक प्रस्तुति रहेको थियो ।
प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले गौरीटारलाई अन्तर्राष्ट्रियस्तरको स्पोर्ट्स एकेडेमीका रूपमा विकास गर्ने तयारी भइरहेको बताए । उनका अनुसार गौरीटारको २३ बिघा क्षेत्रलाई खेलकुद एकेडेमीको अवधारणासहित अघि बढाइनेछ । उनले मुख्यमन्त्रीको पहलमा यसै वर्षको बजेटबाट गौरीटारमा सिन्थेटिक ट्र्याक र इन्डोर कभर्ड हल निर्माणका लागि बजेट सुनिश्चित भएको जानकारी दिए ।
लामाले हेटौँडामा खेल पूर्वाधार पूर्ण रूपमा तयार नभएकाले केही खेलहरू हेटौँडाबाहिर सञ्चालन गर्नुपरेको बताए । ट्र्याक एन्ड फिल्डका लागि सिन्थेटिक ट्र्याक नभएकाले उपलब्ध संरचना सुधार गरेर खेल सञ्चालन गर्नुपरेको भन्दै उनले परिषद्को तर्फबाट क्षमा मागे । परिषद्ले ग्रासरुट तहदेखि खेलाडी पहिचान, इ–स्पोर्ट्स लाइब्रेरी, पूर्वाधारको सम्भाव्यता अध्ययन तथा खेलाडीको डाइट र न्युट्रिसनसम्बन्धी काम अघि बढाएको उनले बताए ।
युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले सफल राष्ट्र निर्माणका लागि सक्षम खेलाडी आवश्यक रहेको बताइन् । उनले खेलकुदले मानिसलाई स्वस्थ मात्रै नभई अनुशासित, जिम्मेवार, लगनशील र जित–हार स्वीकार गर्न सक्ने बनाउने बताइन् । आजको समाज र राजनीतिमा पनि खेल भावनाको आवश्यकता रहेको उनको भनाइ छ ।
प्रतियोगिता यसअघि जेठ २४ देखि ३० गतेसम्म गर्ने तयारी भए पनि आन्तरिक तयारीका कारण मिति सारिएको थियो । औपचारिक उद्घाटन बुधबार गरिएको भए पनि एथलेटिक्सका खेलहरू असार १ गतेदेखि नै हेटौँडाको पिप्ले–क्याम्पा रङ्गशालामा सुरु भइसकेका छन् । प्रतियोगिताको समापन असार ९ गते हुनेछ ।
प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाबाट खेलाडी, प्रशिक्षक, निर्णायक र अफिसियलको सहभागिता रहेको छ । करिब २ हजार ९ सय ५५ खेलाडी र १ हजार २ सय ६ अफिसियलसहित कुल ४ हजार १ सय ६१ जना सहभागी हुने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । प्रतियोगिताका लागि १३ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रतियोगितामा १५ खेल विधा समावेश छन् । हेटौँडामा फुटबल, पुरुष क्रिकेट, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र टेबलटेनिस सञ्चालन हुनेछन् । महिला क्रिकेट र कराँते चितवनमा तथा भलिबल, पौडी, उसु र जुडोका खेल काठमाडौँ र ललितपुरमा सञ्चालन हुनेछन् ।
















