हेटौंडामा सवारी चालकहरूमा लागुऔषध सेवन नियन्त्रण गर्न विशेष अभियान: १० जना चालकले गाँजा सेवन गरेको पुष्टि

Image

हेटौंडा/ लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको ३९औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मकवानपुरका विभिन्न स्थानमा गरिएको सवारी साधन चेकजाँचका क्रममा १० जना चालक लागुऔषध (गाँजा) सेवन गरेको अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, ट्राफिक प्रहरी, सियान पुनर्स्थापना केन्द्र, जनस्वास्थ्य कार्यालय मकवानपुर तथा स्थानीय तहका जनप्रतिनिधिहरूको संयुक्त सहभागितामा सञ्चालन गरिएको चेकजाँच अभियानका क्रममा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १० जना चालकले गाँजा सेवन गरेको पुष्टि भएपछि उनीहरूविरुद्ध लागुऔषध सेवन सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका–७ का २० वर्षीय मोस्तकी अन्सारी, गोरखाको शहीद लखन गाउँपालिका–३ का २६ वर्षीय निर्मल श्रेष्ठ, सुनसरी इटहरी उपमहानगरपालिका–७ का २७ वर्षीय अन्जित चौधरी, पर्सा वीरगञ्ज महानगरपालिका–२७ का ४० वर्षीय राम नारायण मण्डल, सर्लाही लालबन्दी नगरपालिका–१५ का ३४ वर्षीय अमिर योन्जन, रौतहट ईशनाथ नगरपालिका–५ का ३५ वर्षीय पुकार यादव, मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ का २३ वर्षीय रोहन लामा, महोत्तरी बर्दिबास नगरपालिका–१४ का २७ वर्षीय रुद्र प्रसाद दाहाल, रौतहट फतुवा विजयपुर नगरपालिका–६ का ३३ वर्षीय उमेश राय यादव तथा पर्सा वीरगञ्ज महानगरपालिका–१२ का ३४ वर्षीय मैनुदिन मियाँ रहेका छन्।

प्रहरीका अनुसार सडक सुरक्षालाई प्रभावकारी बनाउने तथा सवारी चालकहरूमा लागुऔषध सेवन नियन्त्रण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।