हेटौडा / गौरीटारलाई अन्तर्राष्ट्रियस्तरको स्पोर्ट्स एकेडेमीका रूपमा विकास गर्ने तयारी अघि बढाइएको छ। प्रदेश खेलकुद विकास परिषद्ले गौरीटार क्षेत्रमा दीर्घकालीन खेल पूर्वाधार निर्माणका योजना अगाडि सारेको जनाएको छ।
प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा ले गौरीटारको २३ बिघा क्षेत्रफलभित्र फुटबल एकेडेमीसहित विभिन्न खेल पूर्वाधार निर्माण गरिने जानकारी दिनुभयो। उहाँका अनुसार उक्त क्षेत्रलाई खेलाडी उत्पादन तथा प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
सदस्य सचिव लामाले चालु आर्थिक वर्षको बजेटबाट सिन्थेटिक ट्र्याक तथा इन्डोर कभर्ड हल निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भइसकेको बताउनुभयो। ती पूर्वाधार निर्माणपछि खेलाडीलाई आधुनिक सुविधा उपलब्ध हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ।
परिषद्ले गौरीटारलाई प्रदेशकै प्रमुख खेलकुद केन्द्रका रूपमा विकास गर्दै खेल क्षेत्रको दीर्घकालीन उन्नयनमा टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ।

















