हेटौंडा/ मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम मुल्यांकन गर्दै बागमती प्रदेश सरकारले पुर्वतयारीलाई तिव्रता दिएको छ । मनसुनजन्य विपदको उच्च जोखिममा रहेकाले बागमती सरकारले विपद् व्यवस्थापन पुर्व तयारीलाई प्राथमिकताका साथ अघि बढाएको हो ।
विपद पुर्व तयारी स्वरुप शुक्रबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सुरक्षा निकायसँगको समन्वय तथा छलफल गरेका छन् । विगतका विपद्बाट प्राप्त अनुभवलाई आधार बनाएर सम्भावित जोखिमको पूर्वानुमान, राहत सामग्रीको व्यवस्थापन, सूचना प्रणाली सुदृढीकरण र उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउने तयारी अनुसार मुख्यमन्त्री बानियाँले सुरक्षा निकायसँग छलफल गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले मनसुनका कारण बढी प्रभावित हुन सक्ने क्षेत्रको पहिचान गरेर समयमै पूर्वतयारी गर्न सके जनधनको क्षति घटाउन सकिने बताए । उनले विगतका विपद्का अनुभव नै अहिलेको सबैभन्दा ठूलो सिकाइ भएकाले अब प्रतिक्रिया होइन, पूर्वतयारीको मोडेलमा जानुपर्ने आवश्यकता औँल्याए ।
‘विगतको भोगाइ नै अहिलेको सिकाइ हो । बागमती प्रदेशका कुन–कुन क्षेत्रमा वर्षा र मनसुनका कारण बढी क्षति हुन सक्छ भन्ने पहिचान गरेर अहिले नै तयारी गर्नुपर्छ,’ उनले भने ।
मुख्यमन्त्री बानियाँका अनुसार प्रदेश सरकारले सम्भावित पहिरो, बाढी र डुबान प्रभावित क्षेत्रहरूको अध्ययन गरिरहेको छ । जोखिम बढी भएका स्थान पहिचान गरी त्यहाँ आवश्यक स्रोत–साधन, जनशक्ति र उद्धार सामग्री अग्रिम रूपमा व्यवस्थापन गर्ने रणनीति अपनाइएको छ । उनले विपद् व्यवस्थापनमा सबैभन्दा महत्वपूर्ण पक्ष पूर्वतयारी भएको उल्लेख गर्दै विपद् आइसकेपछि उद्धारमा मात्र केन्द्रित हुने अभ्यास परिवर्तन गर्नुपर्ने बताए ।
मुख्यमन्त्री बानियाँले राष्ट्रिय अनुसन्धान विभागले सम्भावित जोखिम सम्बन्धी सूचना तत्काल उपलब्ध गराउने, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आ–आफ्नो विशेष तालिम र क्षमताअनुसार उद्धार कार्य सञ्चालन गर्ने बताए । उनले सबै सुरक्षा निकायको तालिम, उपकरण र कार्यशैली फरक–फरक हुने भएकाले एउटै ढाँचामा होइन, विशेषज्ञता अनुसार परिचालत हुन पनि स्पष्ट पारे ।
‘नेपाल प्रहरीले प्रयोग गर्ने सबै उपकरण सशस्त्रले प्रयोग गर्दैन, सशस्त्रले प्रयोग गर्ने सबै सामग्री सेनाले प्रयोग गर्दैन । त्यसैले सबै निकायको विशिष्टीकृत क्षमता उपयोग गरेर विपद् व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ,’ उनले भने
मुख्यमन्त्री बानियाँले विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए । उनका अनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासँग नियमित सूचना आदानप्रदान हुने व्यवस्था मिलाइनेछ ।
स्थानीय तहमा रहेका प्रहरी तथा उद्धार संयन्त्रलाई थप क्षमता विकास तालिम दिने विषयमा समेत छलफल भइरहेको उनले जानकारी दिए । उनले विपद्का बेला स्थानीय सरकार नै पहिलो उद्धारकर्ता हुने भएकाले उनीहरूको तयारी मजबुत बनाउनुपर्नेमा जोड दिए ।
प्रदेश सरकारले सुरक्षाका तीनवटै निकायलाई विपद् पूर्व तयारीका लागि आवस्यक पर्ने सामाग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री बानियाँले झण्डै साँढे दुई करोड ७५ लाख बराबरको सामाग्री सुरक्षा निकायलाई हस्तान्तरण गरेका थिए । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा प्रदेशले नेपाली सेनाको लागि ७५ लाख ६२ हजार २९९, नेपाल प्रहरीका लागि ५४ लाख ६६ हजार ४८८ र शसस्त्र प्रहरी बल नेपाललाई एक करोड १६ लाख ८३ हजार ५२२ रुपैयाँ बराबरको विपद् प्रतिकार्यका लागि आवस्यक सामाग्री उपलब्ध गराएको हो । जसमा अत्याधुनिक ड्रोनदेखि वाटर रेस्क्यु इक्युपमेन्ट लगाएतका सामाग्रहरु रहेका छन् ।
राहत सामग्री रणनीतिक स्थानमा भण्डारण
मनसुनका बेला सडक सम्पर्क विच्छेद हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रदेश सरकारले विभिन्न रणनीतिक स्थानमा उद्धार तथा राहत सामग्री भण्डारण गरिसकेको छ । मुख्यमन्त्री बानियाँका अनुसार नुवाकोट र मकवानपुरको हेटौँडा–थानाभ¥याङलगायतका स्थानमा आवश्यक सामग्री सुरक्षित रूपमा राखिएको छ ।
आवश्यकता अनुसार ती सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाइएको आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले जानकारी दिए । प्रदेश सरकारले आगामी दिनमा थप आवश्यक सामग्री खरिद गरेर सुरक्षा निकायलाई हस्तान्तरण गर्ने तयारीसमेत गरेको उनले बताए ।















