हेटौंडा/ आज, २०८३ साल साउन १ गतेबाट आर्थिक वर्ष २०८२/०८३ लाई विदाई गर्दै आर्थिक वर्ष २०८३/०८४ मा प्रवेश गरेका छौँ। हामी वडा नं. ४ को जिम्मेवारीको दोस्रो कार्यकालको अन्तिम वर्षमा रहेका छौँ।
गत आर्थिक वर्षमा सम्पन्न भएका प्रतिनिधिमूलक भौतिक पूर्वाधारहरू भिडियोमार्फत प्रस्तुत गरिएका छन्। व्यवस्थित सहर तथा बस्ती निर्माणका लागि सडक स्तरीकरण, ढल, पेटी, सडक बत्ती लगायतका पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक पर्यटन, भाषा तथा संस्कृति, महिला, युवा, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक समावेशिता तथा मानवीय विभेद र हिंसाविरुद्ध सञ्चालन गरिएका सयौँ कार्यक्रमहरू यहाँहरू समक्ष जगजाहेर नै छन्।
आर्थिक वर्ष २०८३/०८४ मा वडा नं. ४ भित्र सुरु हुने तथा सम्पन्न गरिने प्रमुख योजनाहरू निम्नानुसार रहेका छन्। यी कार्यहरू संघीय सरकार, प्रदेश सरकार, हेटौँडा उपमहानगरपालिका तथा वडा कार्यालयबाट विनियोजित बजेटमार्फत सञ्चालन गरिनेछन्।
१. अधुरो रहेको रजतजयन्ती सडक पूर्णरूपमा निर्माण सम्पन्न गरिनेछ।
२. वडा प्रहरी कार्यालय भवन तथा हुप्र पूर्वी सडक निर्माण कार्य सम्पन्न गरिनेछ।
३. सूर्यचोकदेखि कर्रासम्म सडक स्तरीकरण गरिनेछ।
४. प्रजातान्त्रिक पथ, सृजना पथ, अजरअम्मर रोड, नयाँ मार्ग, बुद्धपथका भित्री सडकहरूको स्तरीकरण, ढल तथा पेटी निर्माण गरिनेछ। साथै किरियापुत्री भवन जाने सडक र श्रमिक खेल मैदान जाने सडक निर्माण गरिनेछ।
५. लाङ्घाली चोक हुँदै पशुपति मन्दिर जाने तथा पानी ट्याङ्कीदेखि मन्दिरसम्मको सडक स्तरीकरण गरिनेछ।
६. वडाभित्र रहेका सबै कच्ची सडकहरूको स्तरीकरण गरिनेछ। खाल्टाखुल्टी, धुलो, हिलो तथा डुबानको समस्या न्यूनीकरण गरिनेछ।
७. स्कुल रोडमा फल्चा निर्माण सम्पन्न गरिनेछ तथा गर्दोहीमा सार्वजनिक हल निर्माण कार्य सुरु गरिनेछ।
८. लोकतान्त्रिक चौर (हुप्र) मा गुणस्तरीय खानेपानीको व्यवस्था, खुला जिमको स्तरीकरण तथा विस्तार, हरियाली प्रवर्द्धन, ट्र्याकबाहिर विश्रामस्थल निर्माण, मर्मत, रंगरोगन तथा नियमित सरसफाइ गरिनेछ।
९. निर्माणाधीन श्रमिक माध्यमिक विद्यालयको २४ कोठे, तीनतले भवन निर्माण सम्पन्न गरिनेछ।
१०. भुटनदेवी माध्यमिक विद्यालयमा मेघा विद्यालय कार्यक्रमअन्तर्गत करिब ३ करोड रुपैयाँ लागतको १२ कोठे, तीनतले भवन निर्माण सम्पन्न गरिनेछ।
११. भुटनदेवी माध्यमिक विद्यालयमा आईटी पार्क निर्माण कार्य सुरु गरिनेछ।
१२. हुप्र वरिपरिको नगर विकास क्षेत्रका बाँकी सडकहरूलाई प्रदेशकै नमुना सडकका रूपमा विकास गर्न डीपीआर सम्पन्न भइसकेको छ। यस आर्थिक वर्षमा टेन्डर प्रक्रिया सम्पन्न गरी निर्माण कार्य सुरु गरिनेछ।
१३. आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, भुटनदेवी माध्यमिक विद्यालय तथा हेटौँडा क्याम्पसमा थप पूर्वाधार निर्माण गरिनेछ।
१४. भुवनेश्वर मन्दिर–पारिजात पथ तथा भैरव रोड–चिसापानी सडकमा पेटी निर्माण कार्य सम्पन्न गरिनेछ।
१५. चिल्ड्रेन पार्क, श्रमिक पार्क तथा विभिन्न मठमन्दिरहरूको स्तरीकरण गरिनेछ।
१६. विभिन्न सडकहरूको मर्मत, रंगरोगन, दुर्घटनाग्रस्त क्षेत्रमा रबर स्पीडब्रेकर जडान, सार्वजनिक स्थानमा सिमेन्टका कुर्सी स्थापना तथा टोल विकास संस्थाको पहिचानसहित बोर्ड राखिनेछ।
१७. मोहन बज्राचार्य आधारभूत सहरी स्वास्थ्य केन्द्रलाई थप सुदृढ र सशक्त बनाइनेछ।
१८. आधुनिक कौशी तरकारी खेतीसम्बन्धी तालिम तथा युवाहरूलाई डिजिटल सीप विकास तालिम प्रदान गरिनेछ।
१९. आदिवासी जनजाति सांस्कृतिक महोत्सव आयोजना गरिनेछ।
२०. नगरस्तरीय क्रिकेट, फुटबल तथा मार्सल आर्ट प्रतियोगिता, साथै जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता आयोजना गरिनेछ।
२१. २० जना विपन्न विद्यार्थीलाई कक्षा ११ मा निःशुल्क अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ। साथै श्रमिक माध्यमिक विद्यालयको विपन्न छात्रवृत्ति कोषमा वडा कार्यालयका तर्फबाट १० लाख रुपैयाँ पुर्याइनेछ।
२२. भाषा, कला तथा संस्कृति प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछन्।
२३. शैक्षिक गुणस्तर सुधार समिति, टोल विकास संस्थाहरू, महिला जागरण समूह, वडा बाल सञ्जाल, ज्येष्ठ नागरिक वडा मञ्च, एकल महिला समूह तथा अन्य संघसंस्थासँगको सहकार्यमा विविध सामाजिक तथा विकासमुखी कार्यक्रमहरू सञ्चालन गरिनेछन्।












