१८ नागरिकको खोजीमा थाहा नगर प्रमुखसहितको टोली रसुवामा, दिनभर खोज्दा पनि अवस्था अज्ञात

Image

हेटौंडा । रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका थाहा नगरपालिकाका १८ नागरिकको खोजीका लागि नगरप्रमुख विष्णुबहादुर विष्ट नेतृत्वको टोली रसुवा पुगेको छ। आफ्ना नागरिकको अवस्था बुझ्न नगरप्रमुख स्वयं घटनास्थल पुगेर सुरक्षा निकाय, स्थानीयवासी र उद्धार टोलीसँग समन्वय गर्दै खोजी अघि बढाएका हुन्।

बिहीबार रसुवा र नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रमा दिनभर खोजी तथा सूचना संकलन गरिए पनि सम्पर्कविहीन १८ जनामध्ये कसैको अवस्थाबारे पनि यकिन जानकारी प्राप्त हुन सकेन।
नगरपालिकाले सम्पर्कविहीन सबै नागरिकको तस्बिरसहितको विवरण तयार गरी सम्बन्धित सुरक्षा निकाय, स्थानीय तह तथा सम्भावित उद्धार टोलीलाई उपलब्ध गराएको छ। सम्भावित क्षेत्रमा भेटिएका शव तथा उद्धार गरिएका व्यक्तिको विवरणसँग सम्पर्कविहीन नागरिकको विवरण मिलाउँदै खोजीलाई अघि बढाइएको नगरप्रमुख विष्टले बताएका छन्।

बाढीका कारण सडक तथा सञ्चार सम्पर्कमा आएको अवरोधले खोजी कार्य थप चुनौतीपूर्ण बनेको छ। टोलीले सम्भावित स्थानमा पुगेर स्थानीयसँग जानकारी लिने तथा घटनास्थलमा उपलब्ध सूचनाका आधारमा हराइरहेकाहरूको अवस्थाबारे खोजी गरिरहेको छ।
नगरप्रमुख विष्टका अनुसार दिनभर खोजी गर्दा पनि १८ जनामध्ये कसैको अवस्थाबारे यकिन जानकारी पत्ता लाग्न सकेको छैन। खोजी कार्यलाई निरन्तरता दिँदै सम्बन्धित निकायसँग थप समन्वय गरेर हराइरहेका नागरिकको अवस्था पत्ता लगाउन अधिकतम प्रयास गरिने उनले बताएका छन्।

यस घटनाले सम्पर्कविहीन नागरिकका परिवारमा झनै बेचैनी बढाएको छ। आफन्तको कुनै खबर आउने आशामा परिवारजन पर्खाइमा छन्।
थाहा नगरपालिकाले संकलन गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेहरूमा भुवन लामिछाने, सोनाम गोले, विजय बलामी, सुदीप कार्की, हिरा लामा, टीकालाल लामा, सबिन लो, लालबहादुर लामा (सुब्बा), प्रशान्त कार्की, रामेश्वर लामा, राजु बल, सोमलाल गोले, श्रीकृष्ण थिङ, रञ्जन अधिकारी, रेलबहादुर अधिकारी, सुदीप वाइबा, सूर्य गोपाली (मिलन) र राजु लामा तामाङ रहेका छन्।

नगरपालिकाका अनुसार उनीहरूमध्ये केही सवारी चालक रहेको बताइएको छ। सम्पर्कविहीन १८ जनाको खोजी जारी रहेकाले उनीहरूको अवस्थाबारे आधिकारिक पुष्टि नहुँदासम्म कुनै पनि अपुष्ट सूचना वा हल्लामा विश्वास नगर्न नगरपालिकाले आग्रह गरेको छ।