हेटौँडा । लामो समयदेखि नेतृत्वविहीन रहेको बागमती प्रदेशको कृषि मन्त्रालयले शुक्रबार मन्त्री पाएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की रमा आले मगरले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेकी हुन्।
प्रदेश प्रमुख दीपकप्रकाश देवकोटासमक्ष शपथ लिएसँगै आले मगर औपचारिक रूपमा सरकारमा सहभागी भएकी हुन्। यसअघि उनी शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिइन्।
नेकपा, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच भएको मन्त्रालय बाँडफाँटअनुसार कृषि मन्त्रालय नेकपाको भागमा परेको थियो। नेकपाबाट सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालिसकेपछि बाँकी मन्त्रालयको जिम्मेवारी आले मगरलाई दिइएको हो।
यससँगै बागमती सरकारको मन्त्रिपरिषद्ले थप पूर्णता पाएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक सात मन्त्रालय रहेको वर्तमान सरकारमा यसअघि कृषि तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय नेतृत्वविहीन थिए।












