हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा केही उद्योगहरूले राति तथा बिहानको समयमा प्लास्टिकजन्य तथा अन्य फोहोरजन्य वस्तु जलाउने गरेको गुनासो बढेपछि तत्काल अनुगमन गरी प्रदूषण नियन्त्रण गर्न आग्रह गरिएको छ।
टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुव प्रसाद अधिकारीले औद्योगिक क्षेत्रभित्रबाट निस्कने धुवा कारण आसपासका बस्ती तथा वातावरण प्रभावित भइरहेको भन्दै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
अधिकारीका अनुसार विशेषगरी पुरानो सुपर लेमिनेट, हाल ऋद्धिसिद्धि ग्रुपअन्तर्गतका उद्योग तथा यति पोलिकेम (यति कार्पेट) लगायतका उद्योगका सम्बन्धमा स्थानीयवासीबाट रातिको तथा बिहानको समयमा प्लास्टिकजन्य वस्तु जलाउने र त्यसबाट निस्कने धुवाँ बस्ती क्षेत्रमा फैलिने गरेको गुनासो प्राप्त भएको छ।
उनले उद्योग सञ्चालन तथा व्यापार–व्यवसाय गर्ने अधिकार सबैलाई भए पनि उद्योग सञ्चालनका नाममा आसपासका नागरिकको स्वास्थ्य, वातावरण र बाँच्न पाउने अधिकारमा प्रत्यक्ष असर पर्ने गतिविधि स्वीकार्य नहुने बताए।
प्लास्टिक तथा अन्य फोहोरजन्य वस्तु खुला रूपमा जलाउँदा निस्कने धुवाँले आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या हुने तथा वातावरणीय प्रदूषण बढ्ने जोखिम रहेको भन्दै अधिकारीले रातिको समयमा यस्तो गतिविधि हुनु थप गम्भीर विषय भएको उल्लेख गरे।
उनले हेटौँडा उपमहानगरपालिका, उद्योग संघ, हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, वातावरण तथा उद्योग अनुगमनसँग सम्बन्धित निकाय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समेत ध्यानाकर्षण गराउँदै तत्काल स्थलगत अनुगमन गर्न आग्रह गरेका छन्।
सम्बन्धित निकायले स्थलगत अनुगमन गरी वास्तविक अवस्था पहिचान गर्न, वातावरणीय मापदण्डविपरीतका गतिविधि भए तत्काल रोक्न तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने अधिकारीको माग छ।
उनले प्लास्टिक तथा अन्य फोहोरजन्य वस्तु जलाउने कार्य तत्काल बन्द गर्न, फोहोरको वैज्ञानिक तथा मापदण्डअनुसार व्यवस्थापन गर्न र सम्बन्धित निकायले नियमित अनुगमन तथा आवश्यक कारबाही गर्न आग्रह गरेका छन्।












