हेटौँडा । सेवा सहयोग आवाज नेपालका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले व्यवसायीले आफ्नै पसल वा उद्योगको पहिचानका लागि राख्ने परिचयात्मक बोर्डलाई विज्ञापन करको दायरामा राख्न नहुने बताएका छन्।
महतले व्यवसायको नाम, लोगो तथा प्रकृति उल्लेख गरी आफ्नै परिसरमा राखिएको बोर्ड र ग्राहक आकर्षित गर्न बाह्य स्थानमा राखिने प्रचारात्मक विज्ञापनबीच स्पष्ट भिन्नता गर्नुपर्ने बताएका हुन्।
उनका अनुसार व्यवसाय कर तिरेर कानुनी रूपमा सञ्चालनमा रहेका व्यवसायीलाई आफ्नै पहिचान खुल्ने बोर्ड राखेबापत थप कर लगाउनुको सट्टा स्थानीय तहले त्यस्ता बोर्डमा छुट वा सहुलियतको व्यवस्था गर्नुपर्छ।
उनले भारतको सर्वोच्च अदालतको ९ अक्टोबर २०२३ को हर्ष अटोमोबाइल्स प्रालि. विरुद्ध इन्दौर महानगरपालिका सम्बन्धी फैसलाले पनि व्यवसायको आफ्नै परिसरमा राखिएको पहिचानात्मक बोर्ड र प्रचारात्मक विज्ञापनबीच फरक छुट्याएको उल्लेख गरे।
महतले हेटौँडा उपमहानगरपालिकाले राजस्व संकलनसँगै व्यवसायमैत्री वातावरण निर्माणमा ध्यान दिनुपर्ने भन्दै परिचयात्मक बोर्ड र वास्तविक विज्ञापनको स्पष्ट वर्गीकरण गर्न माग गरेका छन्।













