विज्ञान पढाइलाई प्रयोगसँग जोड्दै हेटौँडा–१५ को पहल

Image

हेटौँडा । विद्यार्थीलाई विज्ञान विषय किताबी ज्ञानमा मात्र सीमित नराखी प्रयोगात्मक सिकाइतर्फ आकर्षित गर्ने उद्देश्यले हेटौँडा उपमहानगरपालिका–१५ वडा कार्यालयले दुई विद्यालयलाई विज्ञानसम्बन्धी शैक्षिक सामग्री उपलब्ध गराएको छ।

वडा अध्यक्ष सुनिल मोक्तानको पहलमा चुरियामाई माध्यमिक विद्यालय र जनजागृति माध्यमिक विद्यालयलाई विज्ञान शिक्षाका लागि आवश्यक सामग्री वितरण गरिएको हो।

विद्यार्थीलाई प्रयोग, खोज तथा अनुसन्धानमार्फत सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले सामग्री उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ। यसबाट विज्ञान विषयप्रति विद्यार्थीको रुचि बढ्नुका साथै सिर्जनात्मक सोच र व्यवहारिक ज्ञान विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वडा अध्यक्ष मोक्तानले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय तहबाट हुने सहयोगलाई निरन्तरता दिइने बताए। उनका अनुसार शिक्षामा गरिएको लगानी दीर्घकालीन रूपमा सक्षम जनशक्ति निर्माणसँग जोडिएको छ।

वडा कार्यालयले विद्यालयको आवश्यकता पहिचान गरी बालबालिकाको ज्ञान, सीप र सिर्जनशीलता विकासमा सहयोग पुग्ने कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ।